सुनको मूल्य फेरि घट्यो, चाँदी भने उकालो

51 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। गत हप्तादेखि निरन्तर ओरालो लागेको सुनको भाउ आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुन प्रतितोला एक हजार ६ सय रुपैयाँ घटेर दुई लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला दुई लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसअघि सोमबार मात्रै सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको थियो। यसरी लगातार गिरावट देखिँदा बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी देखिएको छ।

यता, चाँदीको मूल्य भने मंगलबार बढेको छ। सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुन प्रतिऔंस ४ हजार ३२५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।