याम्बालिङ हाइड्रोपावर कम्पनीको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता

109 Shares

काठमाडौं । याम्बालिङ हाइड्रोपावर कम्पनीले आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ आवेदन खुला गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले जारी पूँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ ।

प्रभावित क्षेत्र अन्तर्गत जुगल गाउँपालिका–१ देखि ७ वडासम्मका स्थानीय बासिन्दा पर्छन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

स्थानीयले छिटोमा चैत २२ गतेदेखि र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ११ देखि चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘बीबी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व वहन क्षमता मध्यम रहेको संकेत गर्छ ।

कम्पनीले ७.२७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । आयोजनाको अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

यस आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र डिस्काउन्टमा १९.८७ वर्ष रहेको जनाइएको छ ।