काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको छ। रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भने कुनै कुराकानी वा भेटघाट भएको पुष्टि भएको छैन।
यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो। तर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भन्ने समाचार सत्य नभएको बताएका छन्।
प्रचण्डका पूर्व स्वकीय सचिवसमेत रहेका आचार्यका अनुसार प्रचण्ड र रवि लामिछानेबीच निर्वाचनपछि मोबाइल फोनमार्फत कुराकानी भएको थियो। सो क्रममा उनीहरूले एकअर्कालाई चुनाव जितेकोमा बधाई दिएका थिए। त्यसबाहेक अन्य विषयमा के कुराकानी भयो भन्ने खुलाइएको छैन।
‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन। रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले भने, ‘उहाँहरूले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो। त्यसबाहेक अन्य कुराकानी भएन।’
पछिल्लोपटक बालेन शाहका बुवा रामनारायण शाहको निधन हुँदा समवेदना व्यक्त गर्न उनको घर पुगेका बेला प्रचण्ड र बालेनबीच भेट भएको थियो।
चुनावपछि ओली–प्रचण्ड पहिलो भेट
प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ।
ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल, गठ्ठाघर पुगेका थिए। सोही क्रममा ओली र प्रचण्डबीच भेट भएको हो।
‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बताए।
आचार्यका अनुसार निर्वाचनपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुनै कुराकानी वा भेटघाट भएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया