काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताउनुभएको छ।
मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित विविध क्षेत्रका प्रेरणादायी महिलाहरूको सम्मान तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।
भुसालले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू छुट्टाछुट्टै अघि बढेमा कसैले पनि राजनीतिक रूपमा बलियो स्थान बनाउन नसक्ने अवस्था आउने चेतावनी दिनुभयो। उहाँले वाम आन्दोलनका लागि गरिएको त्याग, तपस्या र बलिदानको औचित्य पुष्टि गर्न पनि वामपन्थीबीच एकता आवश्यक रहेको बताउनुभयो।
उहाँले पछिल्लो समय नेपालको राजनीति सस्तो बन्दै गएको टिप्पणी पनि गर्नुभयो। खादा र टिका लगाएर पार्टी नेतृत्वमा पुग्ने र राजनीतिक अवसर प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले यसलाई राजनीतिक विकृतिको रूपमा व्याख्या गर्नुभयो।
भुसालले नेपालमा महिला आन्दोलनबाट प्राप्त उपलब्धि ठूलो संघर्षको परिणाम भएको बताउनुभयो। उहाँका अनुसार अहिले राजनीति, न्यायपालिका, प्रशासनिक तथा सुरक्षा क्षेत्रलगायत विभिन्न क्षेत्रमा देखिएको महिला सहभागिताको पछाडि लामो संघर्ष रहेको छ।
गणतन्त्र स्थापना भएपछि नेपालले पहिलो महिला राष्ट्रपति पाएको स्मरण गर्दै उहाँले संघीयता र समावेशिताका कारण उत्पीडित वर्ग पनि नीति निर्माण तहसम्म पुग्ने अवस्था बनेको बताउनुभयो। साथै वर्तमान राजनीतिक परिस्थितिले वामपन्थी शक्तिहरूलाई पुनः एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अझ स्पष्ट गरेको उहाँको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया