प्रत्यक्षतर्फको मतगणना सम्पन्न : रास्वपाको भारी बहुमत, १२५ सिटमा जित

177 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ।

कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

त्यस्तै, नेपाली कांग्रेस १८ क्षेत्रमा विजयी भएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ९ स्थानमा जित हासिल गरेको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७ क्षेत्रमा निर्वाचित भएको छ।

यसैबीच श्रम संस्कृति पार्टी ले ३ स्थानमा जित हासिल गरेको छ। उक्त पार्टीका संयोजक हर्क साम्पाङ हुन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले एक क्षेत्रमा मात्रै जित हात पारेको छ। म्याग्दीबाट भने स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ।

यस निर्वाचनको परिणामले लामो समयदेखि राजनीतिक क्षेत्रमा स्थापित र पटक–पटक राज्यसत्तामा पुगेका पुराना दलहरूलाई ठूलो धक्का लागेको देखिएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले कांग्रेस, एमाले र नेकपासहितका परम्परागत दललाई धेरै क्षेत्रमा पछि पार्दै अग्रता लिएको छ।

यसका साथै रास्वपाको उदयसँगै मधेश केन्द्रित राजनीतिक दलहरू पनि यसपटक प्रत्यक्षतर्फ शून्य अवस्थामा पुगेका छन्।