काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले करिब ५३ अर्ब रुपैयाँ बराबर भन्सार महसुलमा कर छुट दिएको छ।
अर्थ मन्त्रालय का अनुसार ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरका मालवस्तु पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ भन्सार महसुल छुट दिइएको हो।
मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर ऐन अनुसार भ्याट छुट हुने वस्तुका रूपमा पैठारी भएका २ खर्ब १६ अर्ब २ करोड २९ लाख बराबरका वस्तुमा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर छुट दिइएको छ।
त्यस्तै भन्सार ऐनअन्तर्गत कूटनीतिक सुविधा प्रयोग गरी पैठारी भएका ५९ करोड ७५ लाख बराबरका वस्तुमा ४८ करोड २९ लाख रुपैयाँ भन्सार महसुल छुट दिइएको छ। साथै भन्सार ऐनकै आधारमा महसुल सुविधाका नाममा ८ करोड ८ लाख बराबरका वस्तु पैठारीमा ४ करोड २१ लाख रुपैयाँ कर छुट दिइएको जनाइएको छ।
मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्वका संस्थाले पैठारी गरेका ३७ अर्ब ५४ करोड बराबरका मालवस्तुमा सरकारले ९ अर्ब ५० करोड रुपैयाँ कर छुट दिएको छ।
सरकारसँग भएको आयोजना विकास सम्झौताअनुसार परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी भएका ३९ अर्ब ९२ करोड बराबरका मालवस्तुमा १४ अर्ब ९७ करोड रुपैयाँ कर छुट दिइएको मन्त्रालयले जनाएको छ।
यसैगरी साफ्टा सुविधा अन्तर्गत पैठारी भएका ४२ अर्ब ४० करोड बराबरका मालवस्तुमा २७ अर्ब ६९ करोड रुपैयाँ कर छुट दिइएको छ। विविध छुट सुविधा शीर्षकमा मात्रै १ खर्ब ४० अर्ब ७८ करोड ६९ लाख बराबरका वस्तुमा १७ अर्ब ४० करोड ३३ लाख रुपैयाँ कर छुट दिइएको मन्त्रालयको विवरणमा उल्लेख छ।
सरकारले वार्षिक रूपमा खर्बभन्दा बढी कर छुट दिने गरेको पनि मन्त्रालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया