सामाजिक सुरक्षा खर्च १४.४८ प्रतिशतले वृद्धि, ६ महिनामा ८९ अर्ब बढी खर्च

96 Shares

काठमाडाैं । अर्थ मन्त्रालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले सामाजिक सुरक्षातर्फ गरेको खर्चमा १४.४८ प्रतिशत वृद्धि भएको छ।

मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा ८९ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो। सो अवधिमा ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ खर्च भएको थियो।

यस अवधिमा परिवार तथा शिशु कल्याणका लागि ३२ लाख, बेरोजगार शीर्षकमा ६ लाख, सामाजिक असमावेशी शीर्षकमा ३ करोड ७ लाख तथा सामाजिक सुरक्षा अनुसन्धान र विकासमा ३० लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

अन्यत्र वर्गीकरण नभएको सामाजिक सुरक्षामा मात्रै ८९ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।

यसैबीच, नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरिसकेको जनाएको छ।

आर्थिक वर्षको बाँकी अवधिमा सामाजिक सुरक्षातर्फको खर्च थप बढ्न सक्ने अनुमान गरिएको छ।