इजरायली हवाई आक्रमणबाट लेबनानका आवासीय क्षेत्रमा ठूलो क्षति

137 Shares

काठमाडाैं । इजरायली लडाकु विमानहरूले पूर्वी तथा दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ।

लेबनानी सुरक्षा स्रोतका अनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा सहरमा १२ वटा मिसाइल प्रहार गरिएको थियो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार चार वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका घर, सवारी साधन तथा व्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ।

यसअघि इजरायली सेनाले हिजबुल्लाहका लक्ष्य नजिक रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो। यद्यपि नोभेम्बर २७ मा युद्धविराम सम्झौता लागू भएको भए पनि इजरायलले हिजबुल्लाहबाट खतरा कायम रहेको दाबी गर्दै आक्रमणलाई निरन्तरता दिँदै आएको छ।

यसैबीच जोर्डनका प्रधानमन्त्री जाफर हसनले लेबनानको सुरक्षा र स्थिरताका लागि जोर्डनको अटल समर्थन पुनः पुष्टि गर्नुभएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटका क्रममा उहाँले २१ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुका साथै प्यालेस्टाइनको द्वि–राज्य समाधान र गाजामा तत्काल युद्धविरामको आवश्यकताबारे छलफल गर्नुभएको छ।