सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

153 Shares

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंकले घटेर २६३५ अंकमा कायम भएको छ ।

परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसदिन ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो । व्यापार समूह भने सबैभन्दा धेरै १.१६ प्रतिशतले घट्यो । विकास बैंक ०.०२ प्रतिशत, होटल तथा पर्यटन ०.१० प्रतिशतले बढेका छन् । बैंकिङ ०.२५, फाइनान्स ०.५३, हाइड्रोपावर ०.११, लगानी ०.४२, जीवन बीमा ०.१८, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.१४ र अन्य समूह ०.२९ प्रतिशतले घटेका छन् ।

आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढ्नेमा एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनी रहेका छन् । त्यसैगरी रसुवागढी हाइड्रोपावर ८.५३ प्रतिशत, बुङ्गल हाइड्रोपावर ५.४१ प्रतिशत, ट्रेड टावर ५.३० प्रतिशत र सिक्लेस हाइड्रोपावर ५.२९ प्रतिशतले बढेका छन् ।

उता सुपर मादी हाइड्रोपावर ४.२५ प्रतिशत, कालिका लघुवित्त ३.८५ प्रतिशत र मायाखोला हाइड्रोपावर ३.७१ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा एसवाई प्यानल, राधी विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट कम्पनी अगाडि रहेका छन् ।