राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने

151 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तर, यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र सहभागी हुन पाउनेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ । साथै, त्यस्ता काउन्टरपार्टीलाई स्वीकृत रकमको २.५० प्रतिशत हर्जना लगाइने र ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको बैंकले स्पष्ट पारेको छ ।

यसअघि केन्द्रीय बैंकले एक–एक वर्ष अवधिका तीन वटा ऋणपत्र जारी गरिसकेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था रहेको छ ।

ऋणपत्रको सावा भुक्तानी २०८३ साल पुस २८ गते हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।