काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणअनुसार चालु आर्थिक वर्षको सुरुका पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो।
राष्ट्र बैंकका अनुसार गत मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।
समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो।
यस्तै, शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ थियो।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया