साताको अन्तिम कारोबार दिन सेयर बजार ४.५९ अंकले उकालो

173 Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४.५९ अंकले बढेको छ। दिनभर प्रायः ओरालो देखिएको बजार अन्तिम आधा घण्टामा सुधार हुँदै हरियालीमा बन्द भएको हो।

यस वृद्धिसँगै नेप्से सूचक २ हजार ६४० अंकमा कायम भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ९० करोड रुपैयाँमा सीमित रह्यो।

कारोबार भएका कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

बैंकिङ समूह ०.३० प्रतिशत, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९ तथा निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढे।

यद्यपि फाइनान्स समूह ०.४४ प्रतिशत, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार समूह ०.२२ प्रतिशतले घटे।

आज सान्भी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशतले बढ्यो। त्यसैगरी एसवाई प्यानल ५.७१ प्रतिशत, खानीखोला हाइड्रोपावर ४.६३ प्रतिशत, श्रीनगर एग्रिटेक ४.४२ प्रतिशत र आँखुखोला जलविद्युत ३.८८ प्रतिशतले बढे।

घट्ने कम्पनीतर्फ सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घट्यो। इङवा हाइड्रोपावर २.७१ प्रतिशत र गणपति लघुवित्त २.५३ प्रतिशतले ओरालो लागे।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा एसवाई प्यानल, बन्दीपुर केबुलकार, सान्भी इनर्जी, सागर डिस्टिलरी र शिवम् सिमेन्ट रहेका छन्।