भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख रुपैयाँभन्दा बढी जम्मा

154 Shares

काठमाडौं । ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सोमबार बिहानसम्म उक्त रकम कोषमा संकलन भएको हो। मन्त्रालयका अनुसार सोमबार मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

यसअघि गत साता मेटलाइफ नेपालले २५ लाख रुपैयाँ र त्यसअघि दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको हो। सरकारले कोषमा योगदान गर्न सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघ–संस्था तथा दातृ निकायलाई आग्रह गरेको छ।