आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा

160 Shares

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२९ अंकले घट्दै बन्द भएको हो। यससँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले घटेर ४५१.०७ विन्दुमा झरेको छ।

कारोबार दिनभर ३२३ कम्पनीका १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख ९७ हजार २९४ रुपैयाँ बराबरमा खरिद–बिक्री भए। समग्र बजार घटेको भए पनि दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, सान्भी इनर्जीको सेयर ९.१६ प्रतिशतले वृद्धि हुँदा सागर डिस्टिलरी र युनाइटेड आइडीआई आरबी हाइड्रोपावरको सेयर ७–७ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र बन्दीपुर केवलकारको २२–२२ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको २१ करोड र सागर डिस्टिलरीको १८ करोड रुपैयाँको कारोबार भएको छ।

कारोबारमा सहभागी स्टक्समध्ये ७९ वटा स्टक्सको मूल्य बढेको छ भने १७१ वटा स्टक्सको मूल्य घटेको छ। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

समूहगत रूपमा हेर्दा तीन समूहको उपसूचक बढेको छ भने बाँकी १० समूहको उपसूचक घटेका छन्। होटल्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ तथा ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहहरू नकारात्मक देखिएका छन्।