काठमाडाैं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर उच्च रहने अनुमान गरेको छ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने देखिएको हो। प्रतिवेदनमा मुद्रास्फीतिको चाप कम रहनुका साथै विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र राष्ट्र बैंकले लिएको मौद्रिक सहजताका कारण क्रमशः विस्तार हुँदै गएको उल्लेख छ। यसले चालु आवमा आर्थिक गतिविधि थप सकारात्मक हुने संकेत गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। उक्त आवमा कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव २ प्रतिशत, १२ दशमलव ८ प्रतिशत र ६२ प्रतिशत रहने अनुमान छ।
प्रदेशगत रूपमा हेर्दा गत आवमा कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६ दशमलव ५ प्रतिशत रहेको छ। कोशी प्रदेशको हिस्सा १५ दशमलव ९ प्रतिशत रहँदा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४ दशमलव २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
गत आवमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत रहेको छ, जुन २०८०/८१ मा ४८ दशमलव ३ प्रतिशत थियो। २०८२ साल असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात ७६ दशमलव ६ प्रतिशत रहेको छ। कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको हिस्सा उच्च देखिएको छ। प्रतिवेदनअनुसार कूल निक्षेपमा बागमती प्रदेशको अंश ६५ दशमलव ८ प्रतिशत र कूल कर्जामा ५९ दशमलव ५ प्रतिशत रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया