धुलिखेल । काभ्रे प्रहरीले सरकारी छाप र वडाध्यक्षकाे हस्ताक्षर किर्ते गरेको अभियोगमा एक जना र सेवाग्राही भनिएका एक जनालाई पक्राउ गरेको छ ।
नयाँ बानेश्वरस्थित शंखमुलमा गज्जबकाे फाेटाेकपी एण्ड स्टेशनरी सेन्टर संचालन गर्दै आएका गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नम्वर १ स्थायी घर भई काठमाडौं बानेश्वर बस्ने ४१ बर्षीय किरण अर्याल र धुलिखेल १२ का ३८ बर्षीय सेवाग्राही जितेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका अर्याल र तामाङ दुबैलाई मंगलबार जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ । अर्यालको पसलबाट प्रहरीले २६ वटा संघ संस्थाको छाप, ६८ हजार ७ सय ७० नगद, विभिन्न मुलुकका १४ थान नोट, नागरिकता २ थान, पासपोर्ट तथा विभिन्न संघ संस्थाका पेन ड्राईभ ११ थान, कम्प्युटरसहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले जानकारी दिनु भएको छ ।
धुलिखेल १२ का स्थानीय जितेन्द्र तामाङ काठमाडौं बस्दै आएका थिए । उनले नाता प्रमाणित गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साइबरवाला अर्यालले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहीँबाट बनाइदिन्छु ७ सय ५० रुपैयाँ दिनु भन्दै धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुपार्टीचौरको लेटरप्याड, छाप र अध्यक्ष मोहनप्रसाद लामिछानेको छापसहितको हस्ताक्षर तयार गरिदिएका थिए ।
२०८२ साउन १२ गते जितेन्द्र त्यही नाता प्रमाणित लिएर वडा कार्यालयमा बहिनी लक्ष्मी तामाङको नागरिकता बनाउन सिफारिस लिन आएका थिए । त्यतिबेला वडा कार्यालयले नाता प्रमाणित गरिएको कागजात वडा कार्यालयको नभएको बताएपछि उनले नै बानेश्वरमा रहेको उक्त साइबरमा पैसा तिरेर बनाएको बयान दिएपछि प्रहरीले बयानका आधारमा बानेश्वरमा रहेको साइबरका संचालक अर्यालसहित विभिन्न प्रमाणहरु नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रहरीले निज अर्यालले धुलिखेल १२, ताराखोला गाउँपालिका बाग्लुङ, हेटौंडा उपमहानगरपालिका ४, रत्ननगर १ चितवन, होटल मुडिया बौद्ध, मयुर, नेपाल विद्यार्थी संघ, जनमैत्री बहुमुखी क्याम्पस लगायत विभिन्न सरकारी ब्यक्ति, संघ संस्थाको छापसहितको हस्ताक्षर किर्ते गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया