ज्ञानमणि नेपाल कालाेटाेपी
काठमाडौं । हरेक राजनीतिक पार्टीका आआफ्नै इतिहास छन् । नेपालको इतिहासमा नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो । आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन त्यो इतिहास साक्षी छ । जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे । ती सबै नेतृत्व गर्नेहरु सक्षम भए वा भएनन् त्यसको साक्षी आम जनता छन् । आज हामी कांग्रेसका ती दिवंगत संस्थापकलाई नेतृत्वलाई सम्झँदै छौं । जसको कांग्रेसमा अझै अभाव छ र रहन्छ सधैं सधैं । उनी हुन् बीपी कोइराला । जब जब साउन महिना आउँछ, त्यतिबेला उनको सम्झना गरिन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् उनी । नेपाली राजनीतिज्ञ तथा साहित्यकार पनि थिए कोइराला । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, विसं २०१५ मा नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका छन् ।
विश्वेश्वरप्रसादको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई सन् १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो ।
१९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसबाट पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक रहेका थिए । सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।
सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यका लागि सैनिक संघर्ष सुरू गरे । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहनशमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने । नेपाली साहित्यमा दर्जनभन्दा बढी कृति दिएका कोइरालाको निधन २०३९ साउन ६ गते भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया