काठमाडौं । केही प्रदेशले सहज तरिकाले त केहीले निकै रस्साकस्सीका साथ असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । जस मध्ये केहीले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार घटाएका छन् भने केहीले थोरै बढाएका पनि छन् । यो पटक हामीले प्रदेशका बजेटहरु, कुनमा कति भनेर संकलन गरेका छौं ।
कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएको छ । जसमा सडक पूर्वाधारका लागि १० अर्ब ५७ करोड ५१ लाख छुट्याइएको छ । बजेटमा सडक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता दिँदै सबैभन्दा ठूलो रकम विनियोजन गरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा ऊर्जा, सिँचाइ, खानेपानी तथा सरसफाई क्षेत्रका लागि ४ अर्ब ७३ करोड ३० लाख रहेको छ । स्वास्थ्य सेवाको विस्तारका लागि ३ अर्ब ५१ करोड ७१ लाख, पर्यटन, वन तथा वातावरणका लागि २ अर्ब ९७ करोड ६६ लाख र कृषि, उद्योग तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरिएको छ ।
मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट
मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभाको बैठकमा बजेट घोषणा गरेका हुन् । चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ ।
स्रोततर्फ आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
बागमती सरकारको बजेट ६७ अर्ब ४७ करोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र पूँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजश्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ र अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ । सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, सञ्चित कोण विविध प्राप्ति १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ खर्च व्यहोर्ने स्रोत अनुमान गरिएको छ ।
गण्डकी प्रदेशमा कति ?
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्बको बजेट विनियोजन गरेका हुन् । चालुतर्फ १२ अर्ब ६३ करोड, पुँजीगततर्फ १९ अर्ब ९ करोड र वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेशमा ३९ अर्बको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि करिब ३९ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले आगामी आवको लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
जसमा चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार, पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार छुट्याइएको छ ।
त्यसैगरी, कूल बजेटको अनुमानित आयस्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ७८ करोड ४ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ८२ करोड ९० लाख प्राप्त हुनेछ ।
कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगततर्फ पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय व्यवस्था अन्तर्गत ६१ करोड ५० लाख रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणबापत ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्याइएको छ ।
बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजश्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ, राजश्व बाँडफाँट १० अर्ब २७ करोड ३० लाख रुपैयाँ, समानीकरण अनुदानतर्फ १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानतर्फ ५३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ४६ लाख रुपैयाँको स्रोत अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा बजेट कति ?
सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापाले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
उक्त बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड, पुँजीगततर्फ १९ अर्ब ८३ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ रहेको छ । स्रोततर्फ आन्तरिक राजश्व १ अर्ब ६५ करोड, राजश्व बाँडफाँटबापत ९ अर्ब ८७ करोड, संघीय रोयल्टीबापत ८ करोड, वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब ९२ करोड, अघिल्लो बर्षको बचत ७ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ ४ अर्ब १६ करोड, समपूरक अनुदान ६० करोड २६ लाख र विशेष अनुदानबापत ५१ करोड ६० लाख रुपैयाँको अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया