नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको योगदान

1.2k Shares

दिपक पौडेल.jpeg

  • दीपकप्रसाद पौडेल
बनेपा ।  वि.सं. २००३ साल आश्विनमा भारतको काँशीमा गठन भएको अखिल भारतीय नेपाली कांग्रेसको सभापति देवीप्रसाद सापकोटा काभ्रेपलाञ्चोक कुशादेवी बिहाबरको हुनुहुन्थ्यो । यस्तै वि.सं. २००५ साल श्रावणमा भारतको कलकत्तामा रहेका नेपालीहरुलाई समेटेर सुवर्ण शमशेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसको केन्द्रीय समितिमा काभ्रेपलाञ्चोक, पलाञ्चोकका भिमभक्तमान सिंह बस्न्यात केन्द्रीय सदस्य हुनुहुन्थ्यो । 
 
जहाँनीय राणाशासनको अन्त्य गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पार्टीको संगठन गर्न र सदस्यता बनाउन काठमाडौंका सुन्दरराज चालिसेले कार्य गर्नुभएको र बनेपाका राजदास बादेले काभ्रेपलाञ्चोक जिल्लाको कांग्रेस पार्टीको नेतृत्व गर्नु भइ कार्य गर्नुभएको र उहाँ त्यसबखत नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएको बारेमा नेपाली कांग्रेसका दस्ताबेजहरुमा लेखिएको पाइन्छ । 
Rajdash bade.png
 
                                                                                  राजदास वादे
 
भुवनलाल प्रधानबाट लिखित नेपालको जनक्रान्ति २००७ पुस्तकमा उल्लेख भए अनुसार राजदास बादे, सप्तलाल ताम्राकार, हंसराज श्रेष्ठ, हर्षलाल ख्याखल, भैरबबहादुर श्रेष्ठ (नाला), धनदास बादे श्रेष्ठ, द्वारीका उप्रेती, भरतराज श्रेष्ठ, सहदेव कर्माचार्य, रत्नप्रसाद खरेल, द्वारीका दास कर्माचार्य, गोबिन्दलाल सिकु, मक्कर बहादुर(महादेबटार), गंगाप्रसाद उप्रेती, रत्नबहादुर उदास, माधवप्रसाद कडेंल, ज्ञानबहादुर श्रेष्ठ, धनबहादुर गुरुङ, बालकृष्ण खोजु, द्वारीका दास कर्माचार्य (पनौती) लगायतका नेताहरु प्रजातन्त्र स्थापना गर्ने कार्यमा संलग्न हुँदा २००५ सालदेखि २००७ सालसम्म जेलमा बन्दि हुनुभएको थियो । 
 
बि.सं. २००७ सालको जनक्रान्ति, २०११ सालमा भूमिहीन मोही किसानहरुलाई हक दिलाउन गरिएको भर्पाई आन्दोलन, २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काभ्रेपलाञ्चोकका धेरै नेता कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । २०१४ साल चैत्र ११ गते सिमराबाट काठमाडौंका लागि उडेको इन्डियन एयरलायन्सको डकोरा बिमान दुर्घटनामा राजदास बादेको दुःखद निधन हुनपुग्यो । उहाँको निधनबाट यस क्षेत्रको कांग्रेस पार्टीको लागि मात्र नभएर पूर्व १ नं. को सामाजिक कार्यहरुमा समेत ठूलो क्षति हुनपुग्यो ।
saptalal tamrakar.png
 
                                   सप्तलाल ताम्राकार
 
नेपाली कांग्रेस नेतृत्वको मोर्चाले बि.सं. २०१४ साल मंशिर २२ गते भद्र अबज्ञा आन्दोलनको नामबाट सत्याग्रह सुरु ग¥यो । दुई महिनासम्म चलेको यस आन्दोलनले (सत्याग्रह) ठूलो राजनीतिक प्रभाव पार्यो । नेपाली कांग्रेसका कार्यकर्ताहरुले आन्दोलनमा सक्रियतापूर्वक अग्रणी भूमिका निभाएका थिए । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा भएको आन्दोलनको सुरु दिनको नेतृत्व नेपाली कांग्रेसबाट टंकनाथ शास्त्रीले गर्नुभएको थियो । आशाकाजी बैद्य, गोपालदास बादे, हंसराज श्रेष्ठ, सप्तलाल ताम्राकार, माधवकाजी बैद्य, विष्णुभक्त सेवाचार्य, नारायणदास उलक, सन्तवीर लामालगायत नेपाली कांग्रेसका नेताहरु र प्रजापरिषदका रत्नप्रसाद खरेल, रत्नप्रसाद लामिछाने लगायतको सहभागीता रहेको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड र लाठीचार्ज गर्यो । आन्दोलनको नेतृत्व गर्नुभएका टंकनाथ शास्त्रीको टाउकोमा प्रहरीले हानेको लाठीले चोट लागेर घाइते हुनुभयो । 
 
टाउकोमा १६ टाँका लगाइएको घाइते अबस्थामै उहाँलाई पक्राउ गरियो । यो आन्दोलनमा सहभागी आन्दोलनकारीलाई पक्राउ गरी देशका बिभिन्न जेल र प्रहरी इकाइहरुमा राखिएकाले सबै जेल र प्रहरी इकाइहरु भरिएका थिए । (टंकनाथ शास्त्री निष्ठाका नौ दशक पुस्तकबाट) 
Shiva-humangai.jpg
                                        शिवप्रसाद हुमागाईं
 
बि.सं. २०१५ सालको संसदीय निर्बाचनका लागि देशभर १०९ वटा निर्वाचन क्षेत्रहरु रहेकोमा, पूर्ब १ नं. चौतारा गोश्वारा (हालको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला अन्तर्गत ५ वटा निर्वाचन क्षेत्रहरु थिए) जसमा ६ नं. क्षेत्र चौतारा पश्चिम उत्तरबाट सूर्यमान श्रेष्ठ, ७ नं. क्षेत्र चौतारा पूर्वउत्तरबाट चन्द्रलाल श्रेष्ठ, क्षेत्र नं ८ चौतारामध्ये दक्षिणबाट आशाकाजी बैद्य, क्षेत्र नं. ९ चौतारा दक्षिणबाट सप्तलाल ताम्राकार र क्षेत्र नं. १० चौतारा मध्ये पश्चिमबाट मनकुमार श्रेष्ठ नेपाली कांग्रेस पार्टीको उमेद्वार हुनुभएकोमा ७ नं क्षेत्रका चन्द्रलाल श्रेष्ठ मात्र बिजयी हुनुभएको थियो । हालको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने ८ र ९ निर्बाचन क्षेत्रबाट उमेद्वार हुनुभएका बनेपाका आशाकाजी बैद्य र पनौतीका सप्तलाल ताम्राकार दुवै गोरखा परिषद्का उमेद्वारसँग पराजित हुनुभएको थियो । १०९ निर्वाचन क्षेत्र मध्ये ७४ स्थानमा नेपाली कांग्रेसका उमेद्वारले विजय हाशिल गरी बि.सं. २०१६ सालमा नेपाली कांग्रेसका नेता विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । बि.सं. २०१६ सालमा विपी कोइराला प्रधानमन्त्री हुनुभएको नेपाली कांग्रेसको नेतृत्वको सरकारले विकेन्द्रीकरण नीतिअनुरुप प्रत्येक जिल्लाहरुमा अधिकार सम्पन्न विकास बोर्ड र ग्राम पञ्चायतहरु गठन गर्ने निर्णय गरी कार्य अगाडि बढाएको थियो ।
madhu-acharya.jpg
                                                                      मधुप्रसाद आचार्य
 
स्थानीय नेता तथा कार्यकर्ताहरुले जिल्लामा स्कुल, प्रौढ शिक्षा, घरेलु उद्यम, स्वास्थ्य, बाटोघाटो, पुल, खानेपानी, सिंचाई आदि विकासका काम सुरु गरी अगाडि बढाएका थिए । यही विकासको काममा जनसमर्थन जुटाउन र धेरथोर आर्थिक श्रोतसमेत ब्यवस्था गर्न पूर्व १ नं. ग्राम विकास केन्द्रका तर्फबाट बनेपा चण्डेश्वरीमा आयोजना गरिएको बिशेष सप्ताह कार्यक्रमलाई वि.सं. २०१७ साल मंसिर २४ गते प्रधानमन्त्री विपी कोइरालाले सम्बोधन गर्नुभएको थियो । 
 
२०१७ साल पौष १ गते राजाले प्रतिगामी कदम चालेर बहालवाला जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला र उहाँको मन्त्रिपरिषद्का मन्त्रिहरुलाई गिरफ्तार गरी बन्दी बनाएर बहुदलीय ब्यवस्थालाई कु गरी निर्दलीय पञ्चायती ब्यवस्था लागू गरेकाले, पञ्चायती ब्यवस्थाको खारेज गरी बहुदलीय ब्यवस्था पुनस्र्थापनाका लागि नेपाली कांग्रेस पार्टीले विभिन्न समयमा आन्दोलनहरु गर्यो । काभ्रेपलाञ्चोक जिल्लाका कांग्रेस नेताहरुले पनि भूमीगतरुपमा पञ्चायतविरुद्ध कार्यक्रम संचालन गर्नुभएको थियो । 
 
Tirtha lama.jpg
 
                                                                   तिर्थबहादुर लामा
 
बि.सं. २०२८ साल पुष १ गतेको पञ्चायत ब्यवस्थाको बिरोधमा पर्चा छर्ने कार्यक्रम भएको थियो । पञ्चायत ब्यवस्थालाई हटाएर प्रजातन्त्र पुनस्र्थापना गर्ने कांग्रेसको अभियानमा समर्थनमा तरुण काभ्रे नामक संस्थाको नाममा काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा कांग्रेस नेताहरुले पर्चा छर्ने काम गर्नुभएको थियो । केन्द्रमा समन्वय गरी पर्चा उपलब्ध गराउने काम बासु कोइरालाले गर्नुभएको थियो । पर्चा छर्ने काममा संलग्न पाँचखालका टंकनाथ शास्त्री, नवराज अर्याल, रामचन्द्र तिवारी(सर्बमंगला माविका प्र.अ महोत्तरी), भूमीनन्द सापकोटा, बालकृष्ण श्रेष्ठ, कृष्णबहादुर दनुवारलाई भोलिपल्ट नै प्रशासनले पक्राउ गर्यो । रत्नप्रसाद लामीछाने, शरणप्रसाद आचार्य, रत्न श्रेष्ठ, मुकुन्द सापकोटा, लुलुभाइ मिंया, गजेन्द्र अधिकारीसमेतलाई वारेन्ट जारी गरेकोमा धेरै जना पक्राउ पर्नुभयो । केही भागेर प्रवास जानुभयो । जिल्लाका अन्य स्थानमा पर्चा छरेको अभियोगमा धेरै कांग्रेसी कार्यकर्ताहरुलाई वारेन्ट जारी गरिएको र पक्राउ गरेको थियो । 
 
बि.सं. २०१७ सालको प्रतिगामी कदमपछि नेपाली कांग्रेसका नेताहरु जेलमा साथै भारतमा रहनुभएको थियो । भारत प्रवासमा रहनुभएका विपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते स्वदेश फर्किएपछि नेता कार्यकर्ता र जनतासँग भेटघाट सम्पर्क र पार्टी संगठनको कामहरु भएको पाइन्छ । 
Rajindra kharel.png
                                                                        राजेन्द्र खरेल 
 
यसैक्रममा नेपाली कांग्रेस पार्टीका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको निर्देशन अनुसार काभ्रेपलाञ्चोक जिल्लाका प्रजातन्त्रवादी संघर्षशील कांग्रेस नेताहरुलाई समावेस गरी २०३४ साल माघ १३ गते अध्यक्ष सप्तलाल ताम्राकार, उपाध्यक्षद्वय बासु कोइराला र रत्नप्रसाद लामिछाने, महामन्त्री राजेन्द्र खरेल, कोषाअध्यक्ष इन्द्रमणी अधिकारी, सदस्यहरु टंकनाथ शास्त्री, कृष्णबहादुर दनुवार, श्यामकुमार श्रेष्ठ, कोमलप्रसाद अधिकारी, नारायणप्रसाद आचार्य, प्रकाशचन्द्र लामासमेत १३ जना रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति गठन भएको अभिलेखबाट देखिन्छ । काभ्रे जिल्लाका अग्रज नेताहरुको भनाइ अनुसार सप्तलाल ताम्राकार २०१७ सालदेखि नै काभ्रे जिल्ला नेपाली कांग्रेसको सभापति रहनुभएको थियो । 
 
वि.सं. २०३६ साल जेठ १० गते तत्कालिन राजा वीरेन्द्रले सुधारसहितको पञ्चायती ब्यवस्था वा बहुदलीय ब्यवस्थामध्ये कुन रोज्ने भनी घोषणा गरेकाले २०३७ बैशाख २० गते जनमत संग्रह गरिएको थियो । नेपाली कांग्रेसले बहुदललाई जिताउन देशब्यापी कार्यक्रमहरु, आमसभाहरु गरेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा पनि केन्द्रीय नेताहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका शीर्ष नेताहरुबाट सम्बोधन भएका कार्यक्रमहरु गरिएको थियो । बहुदलको पक्षमा निलो रङको मतपत्रमा मतदान गर्नका लागि काभ्रेका कांग्रेस नेताहरुले सक्रियताका साथ कार्य गर्नुभएको थियो । 
gopal das bade.jpg
                                                                         गाेपालदास वादे
 
२०३७ सालमा जनमत संग्रह हुनुअघि पञ्चायती शासकहरुको विरुद्धमा शाहसिक भूमिका खेलेर बहुदलीय ब्यवस्थाका लागि नेपाली कांग्रेस काभ्रेका तत्कालीन तरुण युवा नेताहरुले महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । २०३७ साल बैशाख ८ गते धुलिखेलमा बहुदल पक्षलाई कमजोर पार्न तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले सम्बोधन गर्न पञ्चसभा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको काभ्रे कांग्रेसले शान्तिपूर्ण बिरोध गर्ने कार्यक्रमको नेतृत्व युवा नेता इन्द्रमणि अधिकारीले गर्नुभएको थियो । यो कार्यक्रमको बिरोधमा सहभागी भएको भनी २७ जना कांग्रेस कार्यकर्तालाई पक्राउ गरिएकोमा अरु सबैलाई रिहा गरी इन्द्रमणि अधिकारी, वीरमान श्रेष्ठ र रमनकाजी मकाजुलाई मात्र जेलमा राखिएको थियो । 
 
बहुदलीय ब्यवस्थाको पुनस्र्थापनाको लागि दलहरुमाथिको प्रतिबन्ध हटाइयोस, भ्रष्टाचार कालोबजारी र तस्करी उन्मुलन होस, प्रेस स्वतन्त्रता कायम होस् लगायतका ७ शुत्रिय मागहरु राखी नेपाली कांग्रेस पार्टीले २०४२ साल जेठ १० गतेबाट चौथोपटक सत्याग्रह गरेको थियो । सत्याग्रहमा सहभागी भई देशभरबाट दशाैं हजारले गिरफ्तारी दिएका थिए । काभ्रेपलाञ्चोक जिल्लाबाट पनि सयौंकोे संख्यामा सहभागिता जनाइएको थियो । 
indramani adhikari.jpg
 
                                                    इन्द्रमणि अधिकारी
 
२०४२ सालको सत्याग्रहमा धुलिखेल जेल लगायत काठमाडौंका विभिन्न जेलहरुमा राखिनुभएका नेताहरुमा सप्तलाल ताम्राकार, गोपालदास बादे, राजेन्द्र खरेल, श्रीराम कर्माचार्य, नारायणदास उलक, हर्षलाल ख्याखल श्रेष्ठ, वीरमान श्रेष्ठ, इन्द्रमणि अधिकारी, विष्णुप्रसाद हुमागाईं, कोमलप्रसाद अधिकारी, नारायणप्रसाद आचार्य, लक्ष्मी अधिकारी, कृष्णबहादुर दनुवार, बेनगोपाल श्रेष्ठ, रामचन्द्र कर्माचार्य यस्तै विद्यार्थी नेताहरु प्रचण्ड प्रधान, रमेशचन्द्र कर्माचार्य, रवीभक्त सैंजु, विष्णुसुन्दर संैजु, किरणसुन्दर सैंजु, सुमनकोख श्रेष्ठ, बुद्धरत्न बुद्धाचार्य, अमृतेश्वर सैंजु, राजन श्रेष्ठ, तीर्थबहादुर पसखल, शिवप्रसाद हुमागाईं, रश्मेन्द्र नेवा, धर्मदास श्रेष्ठ, रामहरी श्रेष्ठ, उद्वव श्रेष्ठ, प्रताप ताम्राकार, रमेशचन्द्र धन्जु, दिनेश हलुवाई, रामप्रसाद श्रेष्ठ, अन्जना मधिकर्मी, सावित्री जंगम, विश्वलक्ष्मी सैंजु, राजेश श्रेष्ठ, सुरेश सैंजु, विनोदकुमार श्रेष्ठ, प्रेमलाल श्रेष्ठ लगायत हुनुहुन्थ्यो । 
 
२०४६ साल माघ ५, ६ र ७ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनको निर्णय र नेपाली कांग्रेसका सर्बमान्य नेता गणेशमान सिंहको आव्हानअनुसार नेपाली कांग्रेस र ७ बामपन्थी पार्टीहरुको मोर्चा संयुक्त बाममोर्चाको सहभागितामा २०४६ साल फागुन ७ गतेदेखि दलबिहीन पञ्चायत ब्यवस्थाको अन्त, बहुदलको स्थापना, अन्तरिम सरकारको नेतृत्वमा संविधान निर्माण तत्पश्चात आमनिर्वाचन गर्नका लागि ऐतिहासिक जनआन्दोलन भएको थियो ।  
tirtha pashkhal.jpg
                                             तिर्थ पसखल
 
नेपाली कांग्रेस पार्टीका सर्बमान्य नेता गणेशमान सिंह यो ऐतिहासिक जनआन्दोलनको सर्वोच्व कमाण्डर हुनुहुन्थ्यो । ४९ दिनसम्म चलेको ऐतिहासिक जनआन्दोलनमा नेपाली जनताको ब्यापक सहभागिता र विश्व जगतको अभूतपूर्व समर्थन रहेको थियो । काभ्रे जिल्लाका नेता कार्यकर्ता र जनताहरुको यो आन्दोलनमा सक्रिय सहभागिता रहेको थियो । आन्दोलनका क्रममा नेपाली कांग्रेसका होनाहार नेता कार्यकर्ताहरुले ज्यान गुमाउनुभयो, दर्जनौं सपूतहरु सहिद भए, कयौं अङ्गभंग भइ घाइते भए, हजारौंले जेल यातना भोग्नु प¥यो । अन्तत्वगत्वा २०४६ साल चैत्र २६ गते आन्दोलनले सफलता पायो । 
 
काभ्रे जिल्लाका कांग्रेस नेता र विद्यार्थी नेताहरुले जिल्लामा तथा काठमाडाैं उपत्यकामा भएको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । काभ्रे जिल्लामा भएको २०४६ सालको जनआन्दोलनको नेतृत्व सप्तलाल ताम्राकार, राजेन्द्र खरेल, गोपालदास बादे श्रेष्ठ, इन्द्रमणि अधिकारी, शिवप्रसाद हुमागागाईं, तीर्थबहादुर पसखल लगायतले गर्नुभएको थियो । यो आन्दोलनमा काभ्रे जिल्लाका बुद्धिनाथ खनाल र हरिकृष्ण भुजु सहिद हुनुभयो । नेपाली कांग्रेसका नेताहरु केशबप्रसाद मैनाली, बालकृष्ण श्रेष्ठ, बिष्णु प्र(प्रेम) घिमिरे, बिदुर बञ्जारा, गौतम नेपाली, प्रताप ताम्राकार, तीर्थमान महाजु, मधुप्रसाद आचार्य, तीर्थलाल जर्किबन्जार, शशी महत, गोकुलदास श्रेष्ठ लगायतलाई पक्राउ गरी जेलमा राखिएको थियो ।
पञ्चायती ब्यवस्थाको बिरोधमा काभ्रे जिल्लाका कांग्रेस नेताहरु विभिन्न समयमा राजकाज मुद्दा खेपेर जेल बसेकाहरुमा लिलाबहादुर केसी, कुबेर कृष्ण कायस्थ, दुर्गासिंह महत, काजी तामाङ, सन्तवीर लामा, रामहरी शर्मा, लालबहादुर तामाङ, माधव बैद्य, ध्रुर्बप्रसाद आचार्य लगायत थुप्रै हुनुहुन्छ । पटक पटक गरी राजेन्द्र खरेल र सप्तलाल ताम्राकारले आठ– आठ बर्षभन्दा बढी समय जेलमा बिताउनु परेको थियो । 
 
बि.सं. २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि देशमा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सरकार गठन भएको भएपनि केही बर्षपछि २०५२ सालबाट माओवादीको बिद्रोह सुरु भएका कारण धेरै कांग्रेस नेता कार्यकर्ताले आफ्नो थाकथलो, घरबार छोड्नुपर्यो, बिस्थापित हुनुपर्यो, कांग्रेस भएकै कारण ज्यानसमेत गुमाउनुप¥यो । माओवादी द्वन्द्वका कारण काभ्रे जिल्लाका धेरै नेता कार्यकर्ता पीडित बनेपनि प्रजातान्त्रिक बिचार र ब्यवहारमा अडिग रहिरहे । नेपाली कांग्रेस भएकै कारण माओवादीको सशस्त्र युद्धकालमा मारिएका कृष्णप्रसाद गौतम, मनहरी फुयाल, राजकुमार मल्ला, पेमा छिरिङ लामा, मित्रप्रसाद तिमल्सिना, नरबहादुर मोक्तान, गोविन्दप्रसाद तिमल्सिना, ज्ञानबहादुर लामा,(च्याङबा), चन्द्रसिंह लामा, होमनाथ तिमल्सिना, पृथ्बी स्याङ्तान, अर्जुनप्रसाद दाहाल, कृष्णबहादुर पुलामी मगर, इन्द्रबहादुर तामाङ, नेत्रबहादुर शाही(जेठा), रामबहादुर पराजुली, गोपाल मल्ल, निशान्तराज गिरी, कुमार हमाल, शम्भु थापा, नवराज थापा, ओमकुमार शाही, मानबहादुर स्याङ्ताङ, श्याम ठकुरी, धर्मराज गिरी, नोखराज गौत्तम हुनुहुन्छ । उहाँहरु सबैमा उच्च सम्मान साथ हार्दिक श्रद्धासुमन ब्यक्त गर्दछौं । 
 
संविधान र संसदीय शाशन प्रणालीलाई कमजोर बनाउँदै २०५८ जेठ ८ गते मध्यरातमा प्रतिनिधी सभाको बिघटन गरी राजा ज्ञानेन्द्रबाट कु गरिएको प्रतिगमनकारी कार्य २०५९ असोज १८ देखि जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई हटाई निरंकुशताका मतियार पात्रहरुलाई परिवर्तन गर्दै २०६१ साल माघ १९ गते तथाकथीत शाही घोषणामार्फत राजा ज्ञानेन्द्रले नेपाली जनताका सम्पूर्ण अधिकार खोसेर लिएको शासन सत्ता जनतामा फर्काउनका लागि विघटित प्रतिनिधी सभा पुनर्स्थापना गरि पूर्ण लोकतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संयुक्त जनआन्दोलन गरिएको थियो । 
 
नेपाली कांग्रेस, नेकपा एमाले, संयुक्त जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपाल सद्भावना पार्टी(आनन्ददेवी) सहितको सहकार्यमा २०६० साल बैशाख २५ गतेबाट सुरु भएको प्रतिगमनबिरुद्धको संयुक्त जनआन्दोलन र २०६२ चैत्र २४ गतेदेखि आन्दोलनरत राजनीतिक पार्टीहरु, विभिन्न पेशामा संलग्न विशिष्ट ब्यक्तित्वहरु, नागरिक समाज सबैको सहभागितामा १९ दिन (२०६३ बैशाख ११ गतेसम्म) निर्णायक जनआन्दोलन भएको थियो । 
congress ४.jpeg
 
यो आन्दोलनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका नेता कार्यकर्ताहरु उल्लेख्य सहभागिता रहेको थियो । दैनिकजस्तो हुने बिरोध सभा, जुलुस, धर्ना, अनशन जस्ता कार्यक्रमहरुमा काठमाडौं उपत्यका र काभ्रे जिल्ला सदरमुकाम धुलिखेल, बनेपामा भएका पचासौं दिनका कार्यक्रमहरुमा प्रहरीले पक्रेर काभ्रे जिल्लाका धेरै नेता कार्यकर्ताहरुलाई थुन्ने कार्य भएको थियो । संयुक्त जनआन्दोलन २०६२/२०६३ मा पक्राउ परि विभिन्न स्थानमा बन्दि बनाएर राखिएका काभ्रेपलाञ्चोक जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, दीपकप्रसाद पौडेल, रामकुमार मुल्मी, मधुकर खनाल, भोला नेपाल, कमला थापा, हर्षजित लामा, ललिता किङरिङ, प्रमोद कोइराला, बिमल श्रेष्ठ, बिदुर बञ्जारा, बेदप्रसाद न्यौपाने, केशवप्रसाद तिमल्सिना, उद्वव कोइराला, कुमार लामिछाने, बिष्णु भुर्तेल, बाबुरत्न श्रेष्ठ, चन्द्रलक्ष्मी ताम्राकार, इन्द्रकुमारी खड्का, सुन्दरमणि आचार्य, माधवप्रसाद ढकाल, राजेश लामा लगायत हुनुहुन्छ । 
 
१०४ बर्षे जहाँनीय राणा शासन, निरङ्कुश पञ्चायती ब्यवस्था, निरङ्कुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा ज्यानको आहुती दिनुहुने काभ्रेपलाञ्चोक जिल्लाका महान सहिदहरु भिमसेन दाहाल, मुकेश कायस्थ, सगुन ताम्राकार, शिवहरि कुँवर, अनिलकुमार लामासहित देशभरकै महान सहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण योगदान रहेको छ । 
 
नेपाली कांग्रेसको स्थापनाकालमा काभ्रे जिल्लाको नेतृत्व गर्नुहुने बनेपाका राजदास वादे, २०१७ सालदेखि २०५३ बैशाख १५ गतेसम्म काभ्रे कांग्रेस सभापति सप्तलाल ताम्राकार, २०५३ देखि २०५७ र २०६२ देखि २०७४ सम्म दुई कार्यकाल शिवप्रसाद हुमागाईं, २०५७ देखि २०६२ र २०७४ देखि २०७८ सम्म दुई कार्यकाल मधुप्रसाद आचार्य तथा २०७८ देखि तिर्थ लामा सभापति हुनुहुन्छ । हाल काभ्रेपलाञ्चोक जिल्लाबाट शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य र गणेश लामा नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको सदस्य हुनुहुन्छ । यस्तै नेपाली कांग्रेस वागमती प्रदेशको महामन्त्रीमा कञ्चनचन्द्र वादे हुनुहुन्छ । काभ्रे जिल्लाका स्थानीय, क्षेत्रीय, जिल्ला, तहमा रहेर कार्य गर्ने र भातृ संस्थाहरुमा रहेर सक्रियताका साथ कार्य गर्ने सबैको सहभागिता र सहयोगका कारण नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा काभ्रे जिल्लाको योगदान महत्वपूर्ण रहेको छ । 
 
(लेखमा उल्लेख विषयमा थप विवरण भए काँग्रेसका अग्रज जानकारहरुबाट सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरिएको छ–लेखक) (लेखक नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधी हुनुहुन्छ)