३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिमपहिरोदेखि हिमताल विष्फोट हुनसक्ने विज्ञहरुकाे चेतावनी

361 Shares

काठमाडाैं । जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । 

उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, वागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुईतिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिमपहिरोदेखि हिमताल विष्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरुको चेतावनी छ । विज्ञहरुको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरु व्यवस्थित हिसाबले गरिरहेको बताएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकाय मात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्वपूर्ण हुने बताउनु भयो । 

हिम पहिरोदेखि हिमताल विष्फोटका घटना सँगसँगै हुने अवस्था 
डा. उप्रेतीका अनुसार यस वर्षको जेठ १८ गतेदेखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम बढ्नेछ । ३० वर्ष यताकै धेरै वर्षा हुने उहाँको भनाइ छ । यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुनेछ । मधेस प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुनेछ । 

कृषि क्षेत्रमा मनसुनी असरको समस्या न्युनिकरणमा जोड दिनुपर्छ
डा. उप्रेतीले मनसुनी वर्षा जुनरुपमा हुनुपर्ने हो सोहीरुपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने बताउनु भयो । मनसुनको बीचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने बताउनु भयो । यसलाई व्यवस्थित वा न्युनिकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरुको भूमिका नै बढी महत्वपूर्ण हुने डा. उप्रेतीको भनाइ छ । मनसुनी असरले पार्ने समस्या न्युनिकरणमा सरोकारवाला निकाय मात्र नभई आम नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उहाँ बताउनु हुन्छ । 

यो वर्ष उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि डेङ्गु देखिन सक्छ
डा. उप्रेतीले यस वर्ष औसतभन्दा बढी पानी र औसतभन्दा बढी तापक्रम हुने देखिएकाले डेङ्गु रोग पछिल्ला वर्षहरुको भन्दा बढ्नसक्ने बताउनु भयो । औसतभन्दा बढी पानी परेर खाल्डाखुल्डीमा पानी जम्ने र पानी रोकिएसँगै बढ्ने तापक्रमका कारण ती खाल्डाखुल्डी डेङ्गु उत्पादन गर्ने उद्योगका रुपमा परिणत हुनसक्ने उहाँको बुझाइ छ । साथै यो वर्ष उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा पनि डेङ्गु देखिने सम्भावना भएकाले सचेतना फैलाउन जरुरी भएको उहाँको भनाइ छ । यो आजको मात्र समस्या नभएकोले यस प्रकारका समस्या समाधानका लागि प्रविधिमा पनि सँगसँगै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

जोखिम आँकलन गरेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ 
डा. उप्रेतीले उत्तरी क्षेत्ररुमा औसतभन्दा तापक्रम र वर्षा बढी हुने भएकाले हिमाली क्षेत्रमा पनि बढी पानी परेको बताउनु भयो । जसका कारण माटो बगाएर ल्याउने, नदी थुनिने, फेरि फुट्ने र नदी थुनिँदा त्यसले ठूलो तालको रुप लिने भएकाले झनै विकराल अवस्थाको सिर्जना हुनसक्ने उहाँको भनाइ छ । त्यसकारण हिमाली भेगबाट बग्ने नदीहरु कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणीसम्म तटीय क्षेत्रमा उपल्लोदेखि तल्लो अवस्थासम्म जोखिमको आँकलन गरेर पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भौतिक संरचना निर्माणलाई वैज्ञानिक बनाउनुपर्छ 
हरेक वर्ष हुने मनसुनी क्षति कम गर्न भौतिक संरचना र अन्य संरचना निर्माणलाई वैज्ञानिक तरिका अपनाउनुपर्नेमा डा. उप्रेतीले जोड दिनुभयो । उहाँले रोशी खोलामा हालै पुगेको क्षतिको उदाहरण दिँदै २४ घण्टामा एक सय चालिसदेखि २ सय मिलिमिटर वर्षापछि आउने बाढी ४४ मिलिलिटरमै आउनु खतराको संकेत भएको स्पष्ट पार्नुभयो ।