यस्तो छ डेडीथुम्का मावि. पूर्वविद्यार्थी सम्मेलन–०८२ को अवधारणा पत्र

977 Shares

पृष्ठभूमी
 
श्री डेडीथुम्का मा.वि.मण्डनदेउपुर ९ सम्भवत मण्डनदेउपुर भेगकै अग्रणी शैक्षिक संस्था रहेको कुरामा दुईमत छैन । यसले वि.सं.२०३८ सालदेखि एसएलसी परीक्षामा आफ्ना विद्यार्थीहरु सामेल गराउँदै आएको छ । यसले उत्पादन गरेका विद्यार्थीहरु मण्डनदेउपुर मात्रै नभई समग्र देशले नै गर्व गर्न लायक नागरिकहरु भइसकेका छन् । 

यस स्कूलबाट उत्पादित हजारौं जनशक्ति सरकारी उच्च ओहदाका राष्ट्रसेवक कर्मचारी, शिक्षक प्राध्यापक, डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, उद्योगी व्यवसायी, समाजसेवी, प्रगतिशील कृषक, कानुन व्यवसायी, संचारकर्मी, विकास विज्ञ, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, अधिकारकर्मी, विभिन्न पेशाकर्मी लगायत विभिन्न क्षेत्रमा क्रियाशील छन । स्वदेश तथा विदेशमा रहनुहुने श्री डेडीथुम्का मावि.मण्डनदेउपुर–९ का पूर्व विद्यार्थीहरु  गोलबन्द हुनुपर्छ भन्ने महशुस भई उनीहरुले आर्जन गरेको ज्ञान, सिप तथा पूँजीले डेडीथुम्का मावि तथा समग्र मण्डनदेउपुर नगरपालिकाभित्र केहि गर्न सकिन्छ कि भनेर अग्रजहरुको सक्रियतामा २०६२ साल चैत्रमा सम्भव भएका पूर्वविद्यार्थीको भेलाबाट श्री डेडीथुम्का मावि एल्मुनाई एसोसियसन नामक संस्था गठन भएको थियो तर विविध कारणले सो संस्था निरन्तर चल्न सकेन । 

Dedi thumka, डेडी थुम्का (2).jpg

श्री डेडीथुम्का मा.वि.मा अध्ययन गरेका विभिन्न व्याच जस्तै २०५२ सालको व्याचले २०५७ सालबाटै आफ्ना व्याचका सहकर्मीहरुसँग नियमित बार्षिकरुपमा भेटघाट कार्यक्रम गर्दै आइरहेको थियो । श्री डेडीथुम्का मा.वि एल्मुनाई एसोसिएसन नामक संस्था गठन भएर पनि निरन्तरता पाउन नसक्नु तथा २०५२ सालको व्याचले आफ्ना सहकर्मी साथीहरुसँग नियमित बार्षिकरुपमा भेटघाट कार्यक्रमले निरन्तरता पाइरहेको पृष्ठभूमिमा यसलाई संस्थागतरुपमा विकास गरीे डेडीथुम्का मावि. तथा समग्र मण्डनदेउपुर नगरमा आफूले सक्दो सहयोग पुर्याउने पवित्र उद्देश्यले २०५२ सालका विद्यार्थीहरुको पहलमा २०७४ सालमा श्री डेडीथुम्का फाउण्डेसन नामक सामाजिक संस्था गठन भइ हालसम्म निरन्तररुपमा संचालनमा रहेको छ । डेडीथुम्का फाउण्डेसनले पूर्वविद्यार्थीहरु भेटघाट, समुदायमा सिमान्तकृत वर्गका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण, शिक्षा, स्वास्थ्य, जनचेतना अभिबृद्धि, साँस्कृतिक परम्परा जगेर्ना, मृत्यु तथा सामाजिक कार्यमा सहपाठीहरुको घरमा सुख दुःख साट्न पुग्ने आदि कार्यहरु निरन्तर गर्दै आइरहेको छ । 

Dedi thumka, डेडी थुम्का (5).jpg

यसै सन्दर्भमा माथि उल्लेखित विधामा विज्ञता हासिल गरी स्वदेश तथा विदेशमा रहनुहुने पूर्वविद्यार्थीहरु गोलवन्द गरी उनीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पूँजीलाई ज्ञान भण्डारको रुपमा विकास गरी श्री डेडीथुम्का मा.वि. तथा समग्र मण्डनदेउपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुको शैक्षिक उन्नयन र नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउने उद्देश्यले प्रथम व्याचदेखि हालसम्म एसएलसी/एसईई परीक्षामा सामेल भएका पूर्वविद्यार्थीहरुको सहभागीतामा पूर्वविद्यार्थी सम्मेलन–२०८२ आयोजना गर्ने अवधारणा अघि सारिएको छ । साथै यस विद्यालयलाई विशिष्ट योगदान गर्ने अग्रजहरु तथा समाजमा विशेष योगदान पुर्याउने पूर्वविद्यार्थीहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।

Dedi thumka, डेडी थुम्का (3).jpg

सम्मेलनका उद्देश्यहरुहरु
#प्रथम व्याचदेखि हालसम्म तथा भविष्यमा समेत एसईईमा सामेल हुने विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई एकीकृत गरी डेडीथुम्का र नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउन साझा थलोको रुपमा विकास गर्ने ।
#नगरपालिकालाई शैक्षिक सुधारका लागि विशिष्ट सुझाव तथा सिफारिसहरु उपलव्ध गराउने ।
#पूर्वविद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान गरी नगरको विकास प्रकृयामा नवीनतम कार्यक्रम संचालन गर्न योगदान पुर्याउने ।

सम्मेलनका सहभागीहरु
#श्री डेडीथुम्का मा.वि का प्रथम व्याचदेखि २०८१ सालसम्म एसएलसी/एसईईमा सामेल पूर्व विद्यार्थीहरु ।
#सम्मेलनमा सहभागी हुन प्रि-रजिष्टेशन गर्नु पर्नेछ । रजिष्टेशन विधी आयोजकले तय गरे बमोजिम हुनेछ ।
#प्रि-रजिष्टेशन शुल्क रु ५००।– लाग्नेछ ।


सम्मेलनको प्रस्तावित मिति

२०८२ साल जेष्ठ १५ गते (विहान ९ः०० बजेदेखि ३ः०० बजेसम्म)

सम्मेलनको ढाँचा

#सम्मेलन सम्पन्न गर्न मुल समारोह समिति गठन गर्ने ।
#आवश्यकता अनुसार विभिन्न उपसमितिहरु गठन तथा परिचालन गर्ने ।
#सम्मेलनमा डेडीथुम्का र मण्डनदेउपुर केन्द्रित (१) बाल शिक्षा (२) विद्यालय शिक्षा (३) प्राविधिक शिक्षा (४) उच्च शिक्षा , अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइसम्वन्धी कार्यपत्र प्रस्तुत हुने । 
#विद्यालयलाई विशिष्ट योगदान गर्ने अग्रजहरु तथा समाजमा विशेष योगदान पुर्याउने पूर्वविद्यार्थीहरुलाई सम्मान गर्ने ।
#डेडीथुम्का फाउण्डेसनलाई पूर्वविद्यार्थीहरुको साझा थलोका रुपमा विकास गर्न सदस्यता आह्वान गर्ने ।

Dedi thumka, डेडी थुम्का (6).jpg


सम्मेलनका आशातित उपलव्धीहरु

#पूर्वविद्यार्थीहरुको ज्ञान, सीप र क्षमताको उपयोग गरी नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउन यो फाउण्डेसन साझा थलोको रुपमा विकास हुनेछ ।
#नगरपालिकाले  शैक्षिक सुधारको क्षेत्रमा विशिष्ट सुझाव तथा सिफारिसहरु प्राप्त गर्नेछ ।
#पूर्वविद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान भई डेडीथुम्का तथा समग्र नगरको विकास प्रकृयामा नवीनतम कार्यक्रम संचालन गर्न योगदान पुग्नेछ ।
#भविष्यमा समेत विभिन्न विषयहरुमा यस्ता सम्मेलन तथा कार्यशालाहरुले निरन्तरता पाउने छ ।
#सम्मेलनका माध्यमबाट पूर्वविद्यार्थीहरुको भेटघाट तथा अनुभव आदान प्रदानले निरन्तरता पाउने छ ।
#विशिष्ट योगदान गर्ने अग्रजहरु तथा समाजमा विशेष योगदान पुर्याउने पूर्वविद्यार्थीहरुलाई सम्मान गर्ने चलनले निरन्तरता पाउने छ ।

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी