राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्णः राष्ट्रपति

321 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ। 

बुधबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शितल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्यतथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताउनु भयो । 

नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उहाँको भनाइ छ । राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताउँदै उहाँले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्रीबाट  आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उहाँको भनाइ छ ।   

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।