अनधिकृत पत्रको आधारमा रेशमलाल चौधरीलाई गरिएको गिरफ्तारीले विधिको शासनप्रति जनविश्वास गुम्योः सांसद खान

339 Shares

काठमाडाैं । जनमत पार्टीका सांसद अब्दुल खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई गिरफ्तारी गरिएको भन्दै सरकारको निन्दा गर्नुभएको छ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्ना कुराहरू राख्दै उहाँले सरकारको निन्दा गर्नुभएको हो । उहाँले गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण हुन गइरहेको समयमा चौधरीलाई पक्राउ गरिएको भन्दै यसले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजातिको एकता र राजनीतिक समन्वयनमा गम्भीर असर परेको बताउनु भयो । उहाँले राजनीतिक षड्यन्त्रको तरिकाले गरिएको गिरफ्तारी मधेसी, थारु, मुस्लिम एकता तोड्ने गरी गरिएको भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । 

उहाँले यस घटनाले हाम्रो देशको न्याय प्रणालीका साथै राजनीतिक प्रक्रियामा पारदर्शी र विश्वसनीयताको आवश्यकता नरहेको प्रस्ट देखिएको जिकिर गर्नुभयो । सांसद खानले सर्वोच्चको अनधिकृत पत्रको आधारमा गरिएको चौधरीको गिरफ्तारीले विधिको शासनमा जनविश्वास गुमेको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न माग गर्नुभयो ।  

उहाँले वर्तमान सरकार अङ्क गणितले बलियो देखिए पनि जनताको जबाफदेहितामा बलियो सरकार बन्न नसकेको टिप्पणी गर्नुभयो ।