काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लुटतन्त्रको विरुद्ध उठ्ने जनआवाजलाई दबाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउनुभएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरुका लागि तह लगाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताउनु भयो । उहाँले जनआवाजविरुद्धका आवाज निस्तेज पार्ने गरी नीति तथा कार्यक्रमको पेज नम्बर २ मा लिखितरुपमा ल्याइनु विडम्वना भएको बताउनु भयो ।
प्रवक्ता शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो जस्तो भएको आरोप लगाउनु भयो । उहाँले नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन हाल्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया