काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको प्रशंसा गर्नुभयो । उहाँले विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीहरुप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।
विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने बताउँदै उहाँले विदेशमा रहेर नेपाली काँग्रेससँग आवद्य नेपालीहरुलाई पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरुमा प्रतिनिधित्व गराएको बताउनु भयो । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रिय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उहाँको भनाइ छ ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया