भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षक आन्दोलनले देशलाई शैक्षिकरूपमा पछाडि धकेल्ने बताएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा साेमबार आयोजना गरेको प्रवचन कार्यक्रम उनले देशलाई पछाडि पार्ने काम कसैले गर्न नहुनेसमेत बताए ।
जनतालाई प्रत्यक्षरूपमा सेवा दिने कर्मचारीमा देशभक्तिको भावना भए कुनै समस्या नआउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘युवाहरू घरखेत बेचेर विदेश गइरहेका छन् । यसरी जानुभन्दा देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ, राज्यले चासो दिनुपर्छ । यसका साथै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुर एक हुन जरूरी छ’, उनले भने ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा मजदुरको जीवनको कुनै मूल्य नहुने भन्दै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताए ।रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया