काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्ने जानकारहरूले बताएका छन् ।
बिहीबार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौंमा आयोजित गरेको आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै जानकारीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले अहिलेको स्थितिमा सरकारले निजी क्षेत्रको विश्वास जित्न नसकेको बताउनु भयो । उहाँले बैङ्कमा पैसा थुप्रिएर बस्दासमेत कसैले पनि लगानी गर्न रुचि नदेखाएको बताउनु भयो । निजी क्षेत्रले गम्भीररूपमा लगानी गर्न नचाहेको भन्दै त्यसको भित्री कारण खोज्नसमेत सरकारलाई सुझाव दिनुभयो । पूर्वउपाध्यक्ष पोखरेलले निजी क्षेत्रलाई विश्वास दिलाउने विषयमा सरकार गम्भीर हुनुपर्ने समेत जिकिर गर्नुभयो ।
योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता डा. गोविन्द पोखरेलले आगामी बजेटले क्षमता विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले अहिले नेपालले ४ रुपैयाँ ७७ पैसा खर्च गरेर एक रुपैयाँ सम्पती कमाएको भन्दै नेपालले महँगो विकास धान्न नसक्ने जिकिर गर्नुभयो । उहाँले क्षमता विकास गर्ने क्षेत्रमा लगानी बढाएको खण्डमा त्यसले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) का लेखा समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सरकारी र निजी क्षेत्र दुवै कमजोर भएको बताउनु भयो । उहाँले जुन किसिमको स्रोत, साधन र क्षमता हुनुपर्ने हो, त्यो सरकारी र निजी दुवै क्षेत्रमा नभएको जिकिर गर्नुभयो । उहाँले स्रोत र साधनको अभावले हजारौँ परियोजनाहरू ठेक्का लागेर पनि कार्यान्वयनमा नगएको बताउनु भयो । पूर्वउपाध्यक्ष कँडेलले मुलुकको आम्दानीको स्तर अत्यन्त न्यून र सीमितताभित्र रहेको बताउँदै त्यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्य वक्ताहरुले बजेटको लागि स्रोतहरूको जगेर्ना गर्नु चुनौती रहेको बताउनुभएको थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया