वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

382 Shares

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताउनुभएको छ।

कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताउनु भयो । उहाँले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताउनु भयो । 

घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उहाँको भनाइ छ । बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गर्दै उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी गर्नुभयो । उहाँले नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको बताउनु भयो । 

अध्यक्ष थेवेले युवा उद्यमशीलताको सङ्कल्पसहित मनाइने उत्सवमा देश निर्माणको प्रण लिइने बताउनु भयो । लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने वैशाख ११ गतेको कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुती दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।