अदालतको आदेश अनुसार तोकिएको समयमै एनआरएनएकाे महाधिवेशन हुन्छः शेष घले

456 Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यातालिका अनुसार नै महाधिवेशन हुने बताउनुभएको छ ।

उहाँले वैशाख २०—२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।  संयोजक घलेले सर्वोच्च अदालतकाे फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने बताउनु भयो । संयोजक घलेले सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको बताउनु भयो । 

विश्वका विभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको जानकारी दिँदै उहाँले सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व भएको जनाउँदै पुनः मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को बर्खिलाफमा जाने कार्य भएका कारण आफूहरुले त्यसो गर्न नसक्ने बताउनु भयो । वर्तमान एनआरएनएलाई रिब्राण्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।  उहाँले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको बताउनु भयो । 

कानूनको सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्यरूपमा सम्पन्न गर्न आ—आफ्नो क्षेत्रबाट पहल गर्न सबै गैरआसायीय नेपालीलाई आग्रह गर्नुभयो ।