उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा उद्योग वाणिज्य महासंघद्वारा सरकारलाई धन्यवाद

337 Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ। 

महासंघले मंगलबार काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो । महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरिय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरिय सुशासन आयोग गठनको माग गरेको बताउनु भयो ।  सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि  आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो । 

सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताउँदै उहाँले निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताउनु भयो । आयोगले दिएको सुझाव कार्यान्वयनमा सरकारले छिटोछिटो काम गर्नुपर्ने उपाध्यक्ष ढकालले बताउनु भयो । 

पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमले निजी क्षेत्रलाई चिन्तामा पारेको उहाँकाे भनाइ थियाे । स्थिर सरकार र सकारात्मक राजनीतिक वातावरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताउँदै केही दिन यताको सडक आन्दोलनले सुधार हुँदै गएको वातावरण बिग्रनसक्ने र वातावरण बिग्रिन नदिन सबैले पहल गर्नुपर्ने बताउनु भयो । 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा २५० भन्दा बढी स्टल रहने र मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताइएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश र थाइल्याण्डका स्टलहरुको सहभागिता रहने आयोजकले बताएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिव २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको बताइएको छ ।