काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समग्ररूपमा बैंकहरूको खुद नाफा सामान्यरूपमा बढेको छ । गत वर्षको तुलनामा यस अवधिमा बैंकहरूको नाफा ४.३५ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका ८ वटा विकास बैंकहरूले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यी मध्ये गरिमा विकास बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । यस बैंकले ७३ करोड ३४ लाख नाफा कमाएर गत वर्षको तुलनामा ७.३२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । गत वर्ष शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले भने चालु वर्षको सोही अवधिसम्ममा ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १६.८६ प्रतिशत कम हो ।
त्यस्तै, लुम्बिनी विकास बैंक ४ करोड ९७ लाख रुपैयाँ नाफासहित सबैभन्दा कम नाफा कमाउने विकास बैंक बनेको छ । ज्योति विकास बैंकले भने सबैभन्दा तीव्र नाफा वृद्धि हासिल गरेको छ । बैंकको नाफा १०१.१४ प्रतिशतले वृद्धि भई ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
८ वटा विकास बैंकहरूमध्ये ३ वटा बैंकको नाफा घटेको छ । ती मध्ये लुम्बिनी विकास बैंकको नाफा ८५.४५ प्रतिशतले घटेको देखिएको छ, जुन समग्र समीक्षामा सबैभन्दा बढी गिरावट हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया