काठमाडौं । छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
विद्यालयमा र सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्केलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् । मास्कले छात्राहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट भेट्नका लागि प्रस्ताव गरेको र शरीरका अंग देखाउन प्रस्ताव गरेको आरोप छ ।
पटकपटक छात्राहरूलाई म्यासेज गरेर ह्यारेसमेन्ट गरेपछि विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका थिए । विद्यार्थीको प्रदर्शनअघि नै सोमबार बिहान तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार भएको देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया