काठमाडौं । दोस्रो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) निर्धारित मितिमा नहुने भएको छ। यही जेठ २२ गतेदेखि सुरु हुने तय भएको प्रतियोगिता हालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा आयोजना हुने भनिएको प्रतियोगिता विशेष कारणवश स्थगित गर्नुपरेको जानकारी दिएको हो। यद्यपि, ड्राफ्टमार्फत छनोट भइसकेका सम्पूर्ण खेलाडीहरूको छनोट प्रक्रिया भने यथावत् रहने आयोजकले स्पष्ट पारेको छ।
आयोजकका अनुसार दोस्रो संस्करणका लागि देशभरबाट ५ सय १२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए भने १५ विभिन्न देशका १ सयभन्दा बढी विदेशी खेलाडीले समेत सहभागिताका लागि आवेदन दिएका थिए। यसले प्रतियोगिताप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षण बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।
नेपाल कबड्डी लिगको पहिलो संस्करणमा छ प्रमुख सहरका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल र धनगढीका टोली सहभागी भएका थिए।
पहिलो संस्करणको फाइनलमा जनकपुरको टोलीले काठमाडौंको टोलीलाई पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिताले नेपालमा कबड्डी खेलको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
आयोजकले प्रतियोगिताको नयाँ मिति भने हालसम्म सार्वजनिक गरेको छैन। स्थगित प्रतियोगिताको संशोधित तालिका र आगामी कार्यक्रमबारे चाँडै जानकारी गराइने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया