काठमाडौं । पूजा महतोको कप्तानीमा रहेको मधेश प्रदेश कर्णालीमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
तीन टोली रहेको समूह ‘बी’ को खेलमा मधेसले लुम्बिनी प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै सेमिफाइनल सम्भावना कायमै राखेको हो । तीन समूहको शिर्ष टोली र तीन समूहबाट सर्वाधिक अंक बटुल्ने एक टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । समूह ‘बी’ एपिएफ र मधेशले पहिलो खेलमा जित रच्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेका छन् भने लुम्बिनी लगातार दुई हारसँगै समूहचरणबाटै बाहिरियिो ।
शुक्रबार मधेश र एपिएफ बीच खेल हुनेछ । यही खेलको विजेता सीधै सेमिफाइनलमा पुग्नेछ । पराजित टोली भने उत्कृष्ट समूह उपविजेता बन्ने अवसर हुनेछ ।
वीरेन्द्रनगर क्रिकेट मैदानमा लुम्बिनीले ८० रनको झिनो लक्ष्य दियो । मधेशले १२.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । खराब शुरुवात गरेको मधेशले कप्तान पूजा र एलिसा यादवको साझेदारीमा मधेशले जित रच्यो ।
एलिसाले ४२ र पूजाले १५ रन बनाए । एलिसाले ३६ बलमा ८ चौका प्रहार गरिन् । पूजाले १४ बलमा तीन चौका हिर्काइन् । अन्य ब्याटरले चल्न नसके पनि मधेशले झिनो लक्ष्य सहजै भेट्टायो । टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले सात विकेट गुमाएर ७९ रन बनाएको हो । लुम्बिनीकी रितु रावल ४१ रनमा नटआउट रहँदा सीमा थापाले १० रन जोडिन् ।
अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन । रितुले ५६ बलमा पाँच चौका हिर्काइन् । लुम्बिनीको बलिङमा सुम्मिता यादवले चार ओभरमा २० रन दिएर चार विकेट लिइन् । रोजी कडारीले दुई र पूजाले एक विकेट लिए । बिहीबार नै बागमतीले गण्डकी प्रदेशलाई आठ विकेटले हराउँदै समूह ‘सी’ मा दोस्रो जित रच्यो ।
तीन टोली रहेको समूहमा सतप्रतिशत जितसहित बागमती समूहविजेतका रूपमा सेमिफाइनलमा पुग्यो । बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकीले १११ रनको सामान्य लक्ष्य दियो । तर बागमतीले १७.५ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
बागमतीकी विपिशा शाहीले ५० रनको अविजित इनिङ खेलिन् । ४६ बलमा उनले ६ चौका प्रहार गरिन् । ओपनर हिलिशा गुरुङ २७ र कञ्चन श्रेष्ठले ९ रन बनाए । लक्ष्मीमाया रुम्बा लामाले नटआउट १३ रनको योगदान दिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ११० रनमा अलआउट भयो । गण्डकीकी ओपनर आयुष्मा चापागाइँले सर्वाधिक २१ रन बनाइन् ।
चन्द्रमाया बराल र सृजना पौडेलले समान १७ रन बनाइन् । बागमतीको बलिङमा लक्ष्मीमाया रुम्बाले तीन तथा संस्कृति फुयाल र सम्भव ढकालले समान दुई विकेट लिए । सृजा घिमिरेको नाममा एक विकेट रह्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया