गाँजा खेतीलाई कानूनी मान्यता दिन गृहसँग समन्वय गर्ने मन्त्री वाग्लेको प्रतिवद्धता

45 Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै  उहाँले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजश्व संकलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गर्नुभयो । उहाँले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानून निर्माण गरी व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले यसलाई पूर्ण सहयोग गर्ने स्पष्ट पार्नुभयो । यो मुख्यतया गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय भएको जानकारी दिँदै मन्त्री वाग्लेले थप अध्ययन र कानूनी निक्र्यौलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने बताउनु भयो । उहाँले औद्योगिक प्रवद्र्धन र सरकारी राजश्व वृद्धिको दृष्टिकोणबाट गाँजा खेतीलाई अर्थ मन्त्रालयले प्राथमिकता दिने उल्लेख गर्नुभयो । यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पु¥याउन आफूले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।