३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै, काठमाडौँमा सांस्कृतिक र्‍याली हुने

68 Shares

काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी श्रावण २४ गते (अगस्ट ९) देशभर विविध कार्यक्रमका साथ मनाउने भएको छ। यस वर्ष दिवस ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!’ भन्ने राष्ट्रिय मूल नारासहित मनाउन लागिएको महासङ्घले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले काठमाडौँको भृकुटीमण्डपबाट बिहान ११ बजे सुरु हुने सांस्कृतिक र्‍याली भद्रकाली, सहिदगेट र सुन्धारा हुँदै टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुने जानकारी दिएको छ। र्‍यालीमा देशभरबाट आउने आदिवासी जनजाति समुदाय मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी र परम्परागत नृत्यसहित सहभागी हुनेछन्।

महासङ्घका अनुसार टुँडिखेलमा हुने मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, कलाकार, सञ्चारकर्मी तथा देशभरबाट आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ।

समारोहमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थामी, थकाली, ह्योल्मो, माझी, याक्खालगायत विभिन्न समुदायका मौलिक नृत्य, लोकगीत तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। खुला मञ्च परिसरमा रैथाने परिकार, हस्तकला, स्थानीय उत्पादन तथा सांस्कृतिक सम्पदाको प्रदर्शनी र फुड फेस्टिभलसमेत आयोजना गरिने महासङ्घले जनाएको छ।

दिवसको अवसरमा श्रावण १८ देखि २७ गतेसम्म देशभर विचार गोष्ठी, अन्तरक्रिया, मातृभाषा पत्रकारिता सम्मेलन, युवा तथा महिला सम्मेलन, रक्तदान, वृक्षारोपण, फोटो प्रदर्शनी, अधिकारसम्बन्धी प्यानल छलफललगायत सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

महासङ्घले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार, समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, मातृभाषा, संस्कृति तथा भूमि र प्राकृतिक स्रोतसँग सम्बन्धित अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। साथै, दिवसका कार्यक्रमको व्यापक प्रचारप्रसार गर्न सञ्चारमाध्यम र मौलिक पहिचानसहित सांस्कृतिक र्‍याली तथा मूल समारोहमा सहभागी हुन सम्पूर्ण नागरिकलाई आह्वान गरेको छ।