यस्तो छ सरकारी कर्मचारीको नयाँ तलब स्केल (सूचीसहित)

71 Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार वृद्धि गरिएको राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ।

नयाँ तलबमान निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ।

स्वीकृत तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ। यस्तै, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक तथा नेपाल सरकारका सचिवको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

सरकारी सेवाको सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ।

सरकारले नयाँ तलबमानसँगै कर्मचारीलाई मासिक तलबको १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। अर्थ मन्त्रालयका अनुसार वृद्धि भएको तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा प्रदान गरिनेछ।

सामुदायिक विद्यालयका माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम गरिएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

सरकारले पेन्सनधारीको पेन्सन रकम पनि १० प्रतिशतले वृद्धि गरेको छ। अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई नयाँ तलबमानअनुसार नै तलब तथा सुविधा भुक्तानी गर्न निर्देशन दिएको छ।