निर्वाचनमा भाग नलिने दललाई सधैं पालिराख्न सकिँदैन: कार्की

89 Shares

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दललाई सधैं कायम राख्न नसकिने बताएका छन् ।

संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले दल दर्ता प्रक्रियालाई व्यवस्थित बनाउने आवश्यकता औंल्याउँदै निर्वाचनमा सक्रिय नहुने दलको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका हुन् ।

‘निर्वाचनमा सहभागी नहुने दललाई सधैं पालिराख्ने भन्ने हुँदैन,’ उनले भने । दल दर्ता गरेपछि निष्क्रिय रहने प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनको लिखित कार्ययोजनामा पनि लोकतान्त्रिक अभ्यासमा सक्रिय नरहेका र निर्वाचनमा सहभागिता नजनाउने दलहरूको दर्ता खारेजीका लागि कानुनी व्यवस्था मिलाउने उल्लेख छ ।

‘राजनीतिक दलको दर्ता व्यवस्थापन तथा समन्वय’ शीर्षकअन्तर्गत कार्कीले निश्चित आधार र मापदण्ड बनाएर दल दर्तासम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन् ।