काठमाडौं । पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनशन दोस्रो दिन पनि जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि सुरु भएको आन्दोलन बुधबार पनि निरन्तर जारी रहेको हो।
आन्दोलनकारीहरूले सामाजिक न्याय सुनिश्चित गर्दै वित्तीय शोषणको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेशअनुसार लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
समितिले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण उपलब्ध गराउन तथा नागरिकको आवश्यकता र क्षमताअनुसार रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ।
त्यसैगरी, निजी बैंक तथा वित्तीय संस्थाको अन्त्य गर्दै मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग पनि संघर्ष समितिले प्रस्तुत गरेको छ। माग पूरा नभएसम्म आन्दोलन र आमरण अनशनलाई निरन्तरता दिइने समितिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया