टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

10 Shares

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।