तरकारी र फलफूलमा विषादीको खतरा अझै उच्च, ११६ नमुना नष्ट
104
Shares
काठमाडौं । नेपाली उपभोक्ताको भान्सासम्म पुग्ने तरकारी तथा फलफूलमा विषादी अवशेषको जोखिम अझै गम्भीर रहेको पाइएको छ । सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गरिएको परीक्षणमा ठूलो परिमाणमा कृषि उपज उपभोगका लागि अयोग्य फेला परेको हो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत देशका १२ वटा संघीय कृषि थोक बजारमा सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले ८ महिनाको अवधिमा २२ हजार ८ सय ६० वटा ताजा तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने ‘कार्बामेट’ र ‘अर्गानोफोस्फेट’ समूहका विषादी अत्यधिक मात्रामा भेटिएका १ सय १६ नमुना तत्काल नष्ट गरिएको जनाइएको छ । यस्तै ४६ नमुना केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गरिने प्रक्रियामा पठाइएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १४ हजार ३ सय ६५ नमुना परीक्षण गरिएकोमा ७२ नमुना मात्र अयोग्य ठहरिएका थिए । यस वर्ष परीक्षणको दायरा बढेसँगै नष्ट गरिएका नमुनाको संख्या पनि बढेको देखिएको छ ।
सरकारले बजार अनुगमनलाई तीव्र बनाएको दाबी गरे पनि उत्पादन तहमा विषादीको असुरक्षित प्रयोग अझै नियन्त्रणमा आउन नसकेको संकेत तथ्यांकले दिएको छ । विशेषगरी ग्रामीण क्षेत्रबाट सिधै बजारमा आउने कृषि उपज परीक्षणको दायराभन्दा बाहिर रहने भएकाले जोखिम अझै उच्च रहेको विज्ञहरूको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया