काठमाडौं — नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमै अध्ययन गर्ने वातावरण बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालय ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले विद्यार्थी पलायन रोक्ने र विदेशी विद्यार्थी आकर्षित गर्ने गरी विश्वविद्यालयहरूले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन्।
पूर्वाञ्चल विश्वविद्यालय का उपकुलपति डा. विजुकुमार थपलिया ले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारत, बंगलादेश र श्रीलंका लगायतका देशका विद्यार्थीलाई नेपालमा आकर्षित गर्न सकिने बताए। उनले नयाँ र ‘युनिक’ विषयमा केन्द्रित पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिँदै पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए।
काठमाडौं विश्वविद्यालय का प्राध्यापक डा. विम श्रेष्ठ ले नेपाली विद्यार्थीलाई देशमै पढाउन विदेशी विश्वविद्यालयसरह सुविधा नेपालमै उपलब्ध गराउनुपर्ने बताए। उनले जलवायु परिवर्तनसम्बन्धी शिक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै सूचना प्रविधि र एआई क्षेत्रमा नेपालले विश्वस्तरमा प्रतिस्पर्धा गर्न कठिन हुने धारणा राखे।
यसैगरी, त्रिभुवन विश्वविद्यालय का पूर्वउपकुलपति डा. तीर्थ खनिँया ले विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण केवल विदेशी विद्यार्थीको संख्याले नभई ज्ञान र सिकाइको आदानप्रदानले निर्धारण हुने बताए।
उनले शिक्षा मन्त्रालयलाई विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय स्तरबारे पर्याप्त जानकारी नभएको आरोप लगाउँदै मन्त्रालय नै सुधारमा अग्रसर नभएसम्म शिक्षा क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्ने टिप्पणी गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया