विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

22 Shares

 यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ ।

अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो ।

लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका अधिकांश युवा अध्ययन, रोजगारी र व्यापार–व्यवसायका लागि विदेशमा छन् । तिनै विदेशमा रहेका युवाहरुले यस पटकको निर्वाचनमा गाउँमा रहेका आफ्ना अभिभावकहरुको मन जितेर भोट परिवर्तन गराई पुराना स्थापित राजनीतिक दलका उम्मेदवारहरुलाई हराउन र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताउन सफल भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिई गत माघ ६ गते म्याग्दी आएर स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुने देशैभरिको एक्लो उम्मेदवार हुन् ।

पुनः विजयी हुनुमा उनको व्यक्तित्व, प्रचार शैली र क्षमता मात्रै होइन, देश विदेशमा रहेका म्याग्देली सन्तानहरुको महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम बताउछन् । ‘अभिभावकहरुको मत परिवर्तन गराउन सन्तानहरुको महत्वपूर्ण भूमिका रह्यो ।

विदेशमा रहेका आफ्ना सन्तानहरुले एक पटक आफ्नो कुरा सुनिदिन र पहिला जुन पार्टीलाई मत दिँदै आउनुभएको छ, त्यो मत यस पटक महावीर पुनलाई दिन अभिभावकहरुलाई आग्रह गरेपछि जिल्लामा रहेका अभिभावकहरुले कांग्रेस, एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार पुनलाई दिएका कारण पुनको विजय भएको हो,’ अध्यक्ष गौतमले बताए ।

गौतमको यो भनाइसँग बुद्धिजीवी तथा राजनीतिक समीक्षक राजु केसी पनि सहमत छन् । माउन्ट एभरेष्ट माविका प्राचार्यसमेत रहेका केसीले सधैँभरि अभिभावकको कुरा सुन्ने गरेका सन्तानहरु यस पटकको निर्वाचनमा भने आफ्ना कुरा अभिभावकलाई बुझाउन र उनीहरुको मन परिवर्तन गराउन सफल भएको बताउछन् ।

‘विदेशमा रहेका युवाको बढ्दो चेतना, ज्ञान, देशको अवस्था र राजनीतिक दलका नेताहरुको क्रियाकलापका कारण बढेको नैराश्यता नै मत परिवर्तनको मुख्य कारण हो’ केसीले भने ‘वर्षौंदेखि भोट दिँदै आएका राजनीतिक दल र ती दलका नेताहरुको काम र प्रवृत्तिबाट युवाहरुमा उत्पन्न भएको नैराश्यतालाई उनीहरुले आफ्ना अभिभावकहरुलाई राम्रोसँग बुझाउन सके, सन्तानको विचार र बुझाइलाई अभिभावकहरुले पनि मन पराए र उनीहरुले मत परिवर्तन गरे,’ प्राचार्य केसीले भने ।

त्यसैगरी, जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ७१ वर्षीय झकबहादुर गर्बुजाले विदेशमा रहेका आफ्ना छोराले यसपटक पुनलाई भोट दिन आग्रह गरेपछि आफूले पहिला भोट दिँदै आएको पार्टीलाई नदिई पुनलाई नै भोट दिएको बताए ।

‘वर्षौंदेखि एउटै पार्टीलाई भोट दिनुभयो, खै के पाउनुभयो र? तपाइँहरु गाउँमा दुःख गर्ने, हामीले विदेशमा रातदिन नभनी काम गर्नुपर्ने अवस्थामा परिवर्तन भएन । यस पटक भोट परिवर्तन गर्नुहोला बुबा १ छोराको यो भनाइले आफ्नो मन छोएपछि भोट परिवर्तन गरेर महावीर पुनलाई हालेँ’ उनले भने ।

राजनीतिक दल र नेताहरुप्रतिको नैराश्यता र सन्ततिहरुको दबाबका कारण यसपटक म्याग्देली जनताले मत परिवर्तन गरेर भारी मतले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार ९३१ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वतमान शिक्षामन्त्री समेत रहेका पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताए । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)ले छ हजार ६७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार ५३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए । म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।

पकड क्षेत्रमै आएन दललाई भोट

यसपटको निर्वाचनमा कांग्रेस, एमाले र नेकपालाई आफ्नो बलियो पकड भएको भनिएका ठाउँहरुबाट नै भोट नआएपछि चिन्तित बनाएको छ । धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी, मराङ, ताकम र मङ्गला गाउँपालिका र अन्नपूर्ण गाउँपालिका एमालेका बलियो पकड र सङ्गठन भएका क्षेत्र हुन् । एमाले नेताहरुले यी क्षेत्रलाई आफ्नो ‘कोर एरिया’ भन्ने गरेको भए पनि लुलाङ बाहेकका वडामा यसपटक कमजोर देखियो भने नेपाली कांग्रेसले मल्कवाङमा सबैभन्दा धेरै मत ल्याए पनि अन्य वडामा निकै खुम्चियो ।

जिल्लाभर विगतमा राम्रो मत ल्याएका दलहरुलाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । एमालेका उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले आफ्नै वडामा अग्रता लिन सकेनन् भने कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले आफ्नो वडा रघुगङ्गा गाउँपालिकाको भगवती, पिप्ले र कुइनेमङ्गलेमा अग्रता लिए । भण्डारीको भगवती र पिप्लेको अग्रताले राहत मिले पनि अन्य वडामा कमजोर देखियो ।

यहाँ मात्र होइन, धेरै जसो वडामा प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार पुनले र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रणी मत ल्याउँदै विजयी भए । एमाले र कांग्रेसले आफ्नो गढ मानिरहेकामा मतको रुझान हेर्दा यसपटक दलहरुको अवस्था नराम्रोसँग बिग्रिएको देखिएको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए ।

‘यसपटक स्वतन्त्रलाई प्रत्यक्षमा र समानुपातिकमा रास्वपालाई रोजेका मतदातालाई पुरानै लयमा फर्काउन दलहरूले निकै मेहनत गर्नुपर्ने हुन्छ भने नयाँ दललाई समेत प्राप्त जनमत जोगाउने उत्तिकै चुनौती छ’, थापाले भने ।

पालिका र वडामा आफ्ना जनप्रतिनिधिले नै मतदातालाई आश्वस्त पार्न नसक्दा उम्मेदवारले सोचेजस्तो मत पाउन नसकेका राजनीतिक समीक्षक यादव रिजालले बताए । आशा गरेका मतदान केन्द्रबाटै स्वतन्त्र उम्मेदवार पुनले अग्रता लिएपछि माथि उठ्नै नसक्ने गरी दलहरुले कमजोर नतिजाको सामाना गर्नुपरेको उनको भनाइ थियो ।

यसपटक समानुपातिकमा रास्वपाको र प्रत्यक्षतर्फ स्वतन्त्रबाट विजयी महावीरको ‘क्रेज’ र त्यसको प्रभावमा दलका उम्मेदवार परेको जानकारहरू बताउँछन् ।

‘स्वतन्त्रलाई प्रत्यक्षमा हालेर समानुपातिकमा पार्टीलाई मत आउने दलहरूको अपेक्षामाथि नराम्रोसँग कुठाराघात भएको देखियो’ रिजालले बताए । दुईवटा प्रदेशसभा सदस्य रहेको नेकपाले त जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत समेत ल्याउन सकेन । म्याग्दीमा २०७९ सालमा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गरेका थिए ।

आफ्नै कामले पहिचान बनाएका महावीर पुन

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई अत्यधिक मतले विजयी भएपछि प्रतिनिधिसभा सदस्य बन्नुभएका महावीर पुन वैज्ञानिक, अनुसन्धानकर्ता एवं समाजसेवी व्यक्ति हुन् । २०११ माघ ५ गते म्याग्दी जिल्लाको नागी गाउँमा बुबा कृष्ण पुन र आमा पूर्वी पुनको छोराका रूपमा जन्मिएका पुनलाई नचिन्ने सम्भवतः अहिले कोही छैनन् । पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले ‘राष्ट्रिय आविष्कार केन्द्र’को स्थापना गरेका थिए ।

हाल चितवनमा बस्दै आएका ७१ वर्षीय उनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् । पुनले सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुअघि उनी वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बेच्दै नेपालका विभिन्न ठाउँमा घुमेका थिए ।

पुनले २०५८ देखि २०६४ सालको समयमा पोखरा, काठमाडौँलगायत सहर बजारमा सहज रूपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेर संसारकै ध्यानाकर्षण गरेका थिए । पुनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकामा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे ।

साथै, पुनले सन् २००२ मा अशोका फेलोसिप, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित रु १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् ।