मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

42 Shares

काठमाण्डौ  । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ ।

आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । 

मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन । 

त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । मलेशियाका लागि विनिफ्रेड एनी दुराईसिंगमले ४०, माहिरा इज्जतीले १९ र ऐना हामिजाह हाशिमले १५ रन बनाइन् । 

नेपालकी राजमती ऐरीले र कविता कुँवरले समान तीन तथा रचनाकुमारी चौधरीले एक विकेट लिइन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा छ विकेटले विजयी भएको थियो । 

यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल छ विकेटले विजयी भएको थियो । नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।