जिल्ला समन्वय समिति समीक्षाः यस्तो छ काभ्रेका १७ सरकारी कार्यालयको प्रगति विवरण

486 Shares
  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका १७ वटा सरकारी कार्यालयका गत एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । साथै ६ नगरपालिका र ७ गाउँपालिकाले एक वर्षमा गरेका कामहरुको पनि समीक्षा सार्वजनिक गरेको छ । मंगलबार धुलिखेलमा आयोजना गरेको आठौं जिल्ला सभा तथा चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रममा सरकारी कार्यालय र पालिकाहरुको कार्यप्रगति सार्वजनिक गरिएको हो । 

जिल्ला समन्यव समिति प्रमुख दीपककुमार गौतमले समीक्षा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु पनि प्रस्तुत गर्नुभयो । सरकारी कार्यालयको प्रगति विवरण यस्तो छः

१. जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षमा ७ हजार ९ सय ८१ वटा नयाँ नागरिकता जारी गरेको छ । यस्तै ८ हजार ७ सय २७ वटा प्रतिलिपी नागरिकता जारी हुँदा १४ हजार ३ सय ४ वटा राहदानी वितरण गरेको छ । २३ हजार ७ सय ७८ वटा राष्ट्रिय परिचयपत्रको आवदेन दर्ता हुँदा १३ हजार ७ सय ८९ वटा वितरण गरिएको छ । ६६७ वटा नाबालक परिचयपत्र जारी गरिएको छ । ३० वटा नयाँ संघसंस्था दर्ता भएका छन भने २२९ वटा संघसंस्था नवीकरण भएका छन् । यस कार्यालयमा १९ वटा हातहतियार नवीकरण भएको छ भने २३१ दलित, जनजाति परिचयपत्र जारी भएको छ । सेवा प्रवाहलाई थप व्यवस्थित गर्न गत जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली सुरु गरिएको छ । 

२.जिल्ला समन्वय समिति 
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले स्थानीय तह र सरकारी कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका कार्यहरुमा गुणस्तरियता, प्रभावकरिता तथा सुशासन अभिवृद्धिसम्बन्धी कार्यालय प्रमुखहरुसँग अन्तर्क्रिया सम्पन्न गरेको छ । जिल्लामा रहेका सबै स्थानीय तहका न्यायिक समितिहरुलाई अभिमुखीकरण गरिएको छ भने जिल्लाको विभिन्न स्थानीय तह र जिल्ला समन्वय समितिको लागत साझेदारीमा सञ्चालित योजनाहरुको अनुगमन गरी रकम निकासा गरिएको छ ।

२०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबान लगायतका विपदजन्य घटनाहरुमा जिल्ला समन्वय समितिद्धारा राहत, खोज र उद्धारमा समन्वय गरिएको छ । एफआरएको मूल्याकंन गरी अन्तिम नतिजा प्रकाशित गरिएको छ । ढुङ्गा, गिट्टी उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ (१) मा व्यवस्था भएको नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन गर्न गठित कार्यदलले पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा संचालित क्रसर उद्योगहरुको स्थलगत अनुगमन सम्पन्न गरेको छ । २०८१ चैत १४ देखि १८ गतेसम्म जिल्ला समन्वय समितिको अगुवाईमा काठमाडौं विश्वविद्यालय परिसरमा युवा महोत्सव सम्पन्न गरिएको छ । 

“ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्ग, दलित लगायतका सिमान्तकृत तथा अल्पसंख्यक व्यक्तिहरुको हकहित तथा सामाजिक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यालयले संघतर्फ ७७.४७ प्रतिशत र प्रदेशतर्फ ६०.५० प्रतिशत वित्तीय प्रगति गरेको छ । 

३. डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले प्रदेशतर्फका कार्यक्रमहरुमा ५०.५७ प्रतिशत वित्तीय र ७१.३३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । संघ सशर्त अनुदानतर्फ १२.७८ प्रतिशत र ३० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । यो आर्थिक वर्षमा वन्यजन्तुबाट ४१ वटा कृषि बाली र २२ वटा पशुधनतर्फ क्षति भएको निवेदन यस कार्यालयमा दर्ता भएको छ । कार्यालयबाट सामुदायिक वनमा पर्यापर्यटन पार्क, ज्येष्ठ नागरिक हरित पार्क, एक विद्यालय एक बगैंचा, जिल्लाको विभिन्न सामुदायिक वनमा पुनःभरण पोखरी निर्माण तथा स्तरोन्नतीका कार्य सम्पादन भएका छन् ।  

४. आयूर्वेद तथा बैकल्पिक चिकित्सालय
आयूर्वेद तथा बैकल्पिक चिकित्सालयमार्फत १८ हजार २२९ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालुतर्फ ८० प्रतिशत र पुँजीगततर्फ ३८.४० प्रतिशत वित्तीय प्रगति भएको छ । संघबाट ७० र प्रदेश सरकारबाट २० प्रतिशत औषधि खरिदको बजेट कमी हुँदा कार्यालयले बिरामीको चाप र औषधीको अनुपात मिलानमा ठूलो चुनौती खेपिरहेको छ । १६ शैयामा स्तरोन्नती भएपनि जनशक्ति र भौतिक संरचना अभाव यो कार्यालयको मुख्य समस्या हो । 

५. उद्योग तथा वाणिज्य कार्यालय
उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकमा ४१७ वटा उद्योग दर्ता हुँदा १ हजार २८४ वटा नवीकरण भएका छन् । ८३ वटा उद्योग खारेजी भएका छन् भने ४२ वटा नामसारी गरिएको छ । वाणिज्यतर्फ २२१ वटा दर्ता, १ हजार ८५ वटा नवीकरण र १२३ वटा खारेजी भएका छन् । १ करोड ७२ लाख ९१ हजार ८२० रुपैयाँ राजस्व संकलन भएको छ । पूँजीगततर्फ ८८.९४ प्रतिशत र चालु खर्चतर्फ ४८.५२ प्रतिशत प्रगति भएको छ । कार्यालयले लेडिज चप्पल, एडभान्स र स्पेशल ढाका कपडा बनाउने तालिम, छाला जुत्ता र लेडिज क्लोज शुज बनाउने तालिम प्रदान गरेको छ ।
 
६. कारागार कार्यालय 
कारागार कार्यालय काभ्रेपलाञ्चोकमा २८८ जना पुरुष कैदीबन्दीहरु छन् । यस कार्यालयको क्षमता भने जम्मा ८५ जनाको मात्रै हो । कैदीबन्दीमध्ये गलैंचा बुन्ने मुढा बुन्ने, पोते उन्ने, थान्का चित्र बनाउने, धागो डल्ला बनाउने, पर्समा पोते भर्ने, कपाल काट्ने, सिरक डस्ना बनाउनेसमेत गरी जम्मा १३१ जना आयमूलक कार्यमा संलग्न छन् । कार्यालय परिसरमा ३० हजार लिटरको अण्डर ग्राउण्ड पानी ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ । सौर्य ऊर्जा राखिएको छ भने कारागार सुरक्षाकर्मीको लागि भान्सा कोठा निर्माण कार्य सम्पन्न भएको छ । कैदीबन्दीहरुलाई भेटघाटको सुरक्षा जाँच कक्ष, चामल गोदाम र सुरक्षाकर्मीको कार्यालय निर्माण गरिएको छ ।

७. कृषि विकास कार्यालय
कृषि विकास कार्यालयमा विभिन्न कार्यक्रमका लागि ७५९ वटा आवेदन परेको थियो । त्यसमध्ये ३५७ वटा सम्झौता भएका छन् । प्रगति प्रतिवेदन तयार गर्दा सम्म यस कार्यालयले २२ प्रतिशत वित्तीय प्रगति गरेको छ । समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन, साना सिंचाई, ब्यवसायिक तरकारी खेती प्रवर्द्धन, मसिना धानबाली प्रवर्द्धन, चैते धानबाली प्रवर्द्धन, खाद्यान्न बाली प्रवर्द्धन, लसुन प्याज प्रवर्द्धन, मौरी प्रवर्द्धन, संरक्षित संरचनामा गोलभेडा खेती प्रवर्द्धन, मागमा आधारित जीविकोपार्जन सहयोग, कृषि उद्यमशीलता विकास, यान्त्रिकरण तथा प्रविधि प्रवर्द्धन सहयोग, कफी प्रवर्द्धन लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।  यो कार्यालयको क्षेत्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला रहेका छन् । 

८. कृषि विकास कम्पनी लिमिटेड
कृषि विकास कम्पनी लिमिटेड धुलिखेलले मागको ७४.३४५ प्रतिशत युरिया, ६३.३५६ प्रतिशत डिएपी र ७३.१२५ प्रतिशत पोटास मल वितरण गरेको छ । त्यस्तै १०८.८०९ प्रतिशत कृषि चुन वितरण गर्न सफल भएको छ । लक्ष्य अनुसारको मलखाद प्राप्त नहुँदा किसानको आवश्यकता पुरा गर्न समस्या भइरहेको कार्यालयले जनाएको छ ।

९. खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको क्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्ला हो । यो कार्यालयको वित्तीय प्रगति ६८ प्रतिशत छ । विभिन्न २१ वटा गतिविधि भएका मध्ये ६ वटा अनुगमन सम्पन्न गरिएको छ । ५ वटा मुद्दा दर्ता भएको छ भने १३ वटा मुद्दा अनुसन्धानको क्रममा रहेको छ । जनशक्तिको अभाव, ४ पांग्रे सवारी साधन नभएको, बीचमा बजेट कटौती हुँदा कार्यालयले समस्या झेलिरहेको छ । 

१०. खानेपानी तथा सरसफाई डिभिजन
खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ मा प्रदेशतर्फको १३३ र संघीय सशर्ततर्फको २६ गरी १५९ वटा खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाहरु छन् । यो कार्यालयले प्रदेशतर्फ ८०.२४ प्रतिशत र संघीय सशर्ततर्फ ७७.२५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
 
११. जिल्ला हुलाक कार्यालय
जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकमा २९ हजार ५३९ वटा साधारण चिठ्ठी, रजिष्ट्री चिठ्ठी र पार्सल आयात भएको छ । त्यसमध्ये २६ हजार ७२० वटा फिर्ता भएको छ । कार्यालयले पूँजीगततर्फ ७१.३९ र चालुतर्फ ६२.५६ प्रतिशत प्रगति हासिल गरेको छ । एक पालिका, एक हुलाकको अवधारणा कार्यान्वयनमा आएसँगै ८ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् भने जिल्लाका १३ वटै पालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । कार्यालयले २१ लाख ८८ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको छ । 

१२. नेपाल बनेपा बहुप्राविधिक शिक्षालय
नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भौतिक प्रगति ७२ र वित्तीय प्रगति ६२.११ प्रतिशत रहेको छ । डिप्लोमा तहमा नियमितरुपमा पाँच वटा कार्यक्रम र विशेष छात्रबृत्तिमा तीन वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । कम्पाउण्ड वाल होचो हुँदा बाहिरी मानिसको आवतजावत बढ्दा चोरी बढेको छ । क्यान्टिन तथा प्रशिक्षार्थीहरुले उत्पादन गरेको परिकार सजावट तथा विक्री वितरण गर्न आउटलेट नभएको, कक्षा कोठा, ल्याबको समस्या भइरहेको छ । शिक्षालयले संघ र प्रदेश सरकारसँग ब्यूटी कस्मेटोलोजी डिप्लोमा कार्यक्रम सञ्चालन गर्न छुट्टै भवन निर्माणका लागि बजेटको अपेक्षा गरेको छ । त्यस्तै १०२ रोपनी क्षेत्रफलमा अग्लो कम्पाउण्ड, आउटलेट, थप कक्षाकोठा पार्टेशन, भौतिक संरचनाको रंगरोगन तथा मर्मतसम्भार, विद्युत, ढल, खानेपानी तथा ड्रेनेज संरचना मर्मत तथा सम्भारका लागि बजेटको अपेक्षा गरेको छ । 

१३. पशु सेवा कार्यालय
पशु सेवा कार्यालयको क्षेत्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला हो । कार्यालयले २५.४९ प्रतिशत वित्तीय र ४० प्रतिशत भारित प्रगति हासिल गरेको छ । कार्यालयले बाख्रा प्रवर्द्धन, बंगुर प्रवर्द्धन, दूध उत्पादन बृद्धि कार्यक्रम, पशुपालनमा असल अभ्यास प्रवर्द्धन, पशुपन्छी तथा मत्स्य उद्यमशीलता विकास, पशुपन्छी पदार्थ उपभोग प्रवर्द्धनलगायत विभिन्न २७ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यालयले संघ र प्रदेशसँग पशुपन्छी तथा मत्स्य स्वास्थ्यसम्बन्धी तालिम, प्रविधि र बजार प्रवर्द्धनका थप कार्यक्रम अपेक्षा गरेको छ । 

१४. पूर्वाधार विकास कार्यालय 
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ४९.७८ प्रतिशत पूँजीगत र ६२.५९ प्रतिशत चालुतर्फ प्रगति गरेको छ । कार्यालयले पारदर्शी र निष्पक्ष ब्यवहारलाई कार्यान्वयनमा ल्याएको छ । कर्मचारीसँग नियमित अन्तर्क्रिया गरी कमजोर पक्षलाई सुधार गर्ने नीति अबलम्बन गरिएको छ । गुनासो सुनुवाई, सुझाव पेटिका, पृष्ठपोषण प्रणाली र प्रत्येक आयोजनास्थलमा सूचनापाटी राख्ने ब्यवस्थालाई कडाई गरिएको छ । कार्यालयले बजेट तथा कार्यक्रममा व्यवस्था भएको, कार्यान्वयनको चरणमा रहेका तर म्याद समाप्तिको कारणले समस्याग्रस्त र रुग्ण आयोजनाहरुको हकमा प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखी म्याद थप, बजेट तथा कार्ययोजनासहित सम्पन्न हुने गरी व्यवस्थापन गर्न तथा प्रादेशिक गौरवका सडक योजनाहरु बहुवर्षिय श्रोत सुनिश्चितता गरि कार्यान्वयन गर्न कम्तीमा ४ करोड रुपैयाँ बजेटको व्यवस्थापन गर्न आग्रह गरेको छ । 

१५. बागवानी विकास केन्द्र 
बागवानी विकास केन्द्र काभ्रेपलाञ्चोकले पुँजीगततर्फ ८२.९ र चालुतर्फ ६९ प्रतिशत प्रगति गरेको छ । बीउ आलु, तरकारी बेर्ना, धानको बीउ उत्पादनमा उलेख्य प्रगति हासिल गरेको छ । बेसारको फिल्ड जीन बैंक स्थापना गरिएको छ । काक्रोको वर्णशंकर बीउ उत्पादन, फलफूल बिरुवा उत्पादन तथा बिक्री वितरणमा निरन्तरता दिइएको छ । 

१६. शहरी विकास तथा भवन कार्यालय
शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकमार्फत बहुबर्षीय ७५ वटा प्रादेशिक योजना कार्यान्वयनमा गएका छन् । पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकामा जनता आवास कार्यक्रम, चौंरीदेउराली र खानीखोला गाउँपालिकामा खरको छाना उन्मुलन कार्यक्रम सञ्चालन भइरहेका छन् । कार्यालयले स्थानीय तह, उपभोक्ता समितिका पदाधिकारीहरुलाई भेला गरेर कार्यक्रमबारे अन्तक्र्रिया गर्ने र जनता आवास तथा खरको छाना उन्मुलन कार्यक्रमका लाभग्राहीहरुलाई सम्बन्धीत वडा कार्यालयमै पुगेर सम्झौता गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ ।

१७. शिक्षा विकास तथा समन्वय इकाइ
शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोकले यो अवधिमा ९४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । यो कार्यालयले १४ वटा गतिविधि सम्पन्न गरेको छ। नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई सहजीकरण, विद्यालय एवं स्थानीय तहका पदाधिकारीहरुलाई शैक्षिक नीति अभिमुखीकरण, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि सहजीकरण, विद्यालय लेखापालन तथा सार्वजनिक खरिद तालिम, विद्यालय सुपरीवेक्षण तथा शिक्षकको लागि पेशागत सहयोग, नवप्रवेशी शिक्षकहरुका लागि सेवाप्रवेश तालिम लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।(जिल्ला समन्वय समितिको समीक्षा प्रतिवेदनअनुसार तयार)

याे पनि पढाैं

जिल्ला समन्वय समितिको समीक्षाः काभ्रेका १३ पालिकामध्ये कुन स्थानीय तहको प्रगति कस्तो ?