काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गर्नुभएको छ ।
शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी हुनुभएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्नुभएको हो । उहाँले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताउनु भयो । उनीहरु आस्थाको बन्दी भएको उहाँको भनाइ छ ।
हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेकाे आरोप लगाउँदै उहाँले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप पनि लगाउनु भयो । उहाँले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताउनु भयो ।
अध्यक्ष थापाले सरकारले अन्यायपूर्वक पक्राउ गरी हिरासतमा राखेका नेता तथा कार्यकर्ताहरु हिन्दू राष्ट्र र राजसंस्था विचारका संवाहक र राष्ट्रवादी योद्धा भएको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया