काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ ।
शनिबार सिंहदरबारमा पूर्वसांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताउनु भयो । उहाँले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको बताउनु भयो ।
पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको आराेप लगाउनु भयो । यसलाई मेटाउन सक्नुपर्ने बताउँदै उहाँले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताउनु भयो । उहाँले न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताउनु भयो ।
पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्वसांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताउनु भयो । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया