
काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानलाई देशको मुल कानूनको रूपमा मान्यता प्रदान गर्नु तथा राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकुल हुनु नै कानूनी राज्यको मुख्य मान्यता रहेको बताउनुभएको छ ।
कानून दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक सर्वोच्चता कायम गर्ने सन्दर्भमा न्यायपालिकाले चालेका कदमहरू कानूनको शासनको कसीमा सुखद् र सन्तोषपरक पक्षहरू रहेको बताउनु भयो । उहाँले संविधानले सुनिश्चित गरेका व्यवस्थाहरू र कानूनद्वारा निर्धारित पद्धतिहरू जतिसुकै सबल भएपनि निर्जीव कानूनी अक्षरहरूलाई जीवन्तता दिने काम सरकारको कार्यकुशलता र प्रभावकारी भूमिकामा निर्भर हुने बताउनु भयो ।
उहाँले संविधानले अवलम्वन गरेको सङ्घीय शासन प्रणालीमा न्यायको प्रवाहको संस्थागत प्रबन्धमा केही संरचनात्मक परिवर्तन गर्दै सारभुतरूपमा स्वतन्त्र, निष्पक्ष र समक्ष न्याय प्रवाह गरेर कानूनी न्यायको अवधारणालाई संविधानको मौलिक वस्तुको रूपमा व्यवस्थित गरिएको बताउनु भयो । प्रधानन्यायाधीश राउतले संविधानको कार्यान्वयन र कानुनको शासनलाई बलियो बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया