इन्डियन प्रिमियर लिगः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

58 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस (डीएल) पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । 

मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो । 

त्यसपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । 

मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए । त्यसअघि, मुम्बईका विल ज्याक्सले सर्वाधिक ५३ रन बनाएका थिए । सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन थपे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् । जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।एजेन्सी