शिक्षाको सुधारका लागि संसदबाट क्रियाशील रहनेछुः पूर्वमन्त्री भट्टराई

88 Shares

काठमाडाैं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशील रहने बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको बताउनु भयो । उहाँले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताउनु भयो । 

संशोधनकर्ताहरुको सुझावअनुसार नै समिति प्रदेशमा जाने निर्णय भएर उपसमिति बनेको उहाँको भनाइ छ । उहाँले विद्यालय शिक्षा विधेयक निश्कर्षमा पुर्याउने कार्यमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।

विद्यालय शिक्षा विधेयकबारे गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले  उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको छलफल तोकिएकै समयमा पूरा भएपनि अन्तिम प्रतिवेदन लेखनमा थप केही दिन लाग्ने बताउनु भयो । उहाँले उपसमिति गठन भएपछिको ३५ दिनमा ३९ वटा बैठक बसेर विधेयकमाथि छलफल गरेको बताउनु भयो । उहाँले १५ परिच्छेद र १६३ दफा भएको विधेयकमाथि १५२ समूहमा सांसदहरुले संशोधन प्रस्ताप पेश गरेको बताउनुभयो । एक सय ६१ सांसदहरुले दर्ता गरेको एक हजार सात ५८ वटा संशोधनको प्रस्ताव निरन्तर छलफल गरेको उहाँको भनाइ छ ।

समिति सदस्य देवेन्द्र पौडेलले उपसमितिमा छलफल सकिएको विद्यालय शिक्षा विधेयक समितिमा सहमतिमै अन्तिम टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुले बिदाको दिन तथा संसद बैठक चलेको समयमा पनि अहोरात्र खटिएर विधेयकमाथिको छलफललाई अन्तिम रुप दिएको बताउनुभयो । उहाँले थपिएको समयभित्र प्रतिवेदन लेखेर समितिमा बुझाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सदस्य पौडेलले नेपालको इतिहासमा पाँच दशकपछि विद्यालय शिक्षा ऐन निर्माण गरेर गर्व गर्ने अवस्था सिर्जना गर्न तोकिएको बाँकी समय सही ढंगले सदूपयोग गर्नुपर्ने बताउनु भयो ।